अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०५ | Colorodo: 22:20

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

बिआरटीनेपाल २०८१ असोज १२ गते ६:४० मा प्रकाशित

निरन्तरको भारी वर्षाका कारण हवाई उडान प्रभावित भएको छ। मौसममा आएको खराबीका कारण शुक्रबार साँझ ७ बजेदेखि स्थगित गरिएको आन्तरिकतर्फ उडान अहिलेसम्म खुलेको छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आन्तरिक उडान अहिलेसम्म खुलेको छैन भने अन्तर्राष्ट्रियतर्फको उडान भने सञ्चालन भइरहेको छ।

आज बिहान जजिरा एयरको विमान काठमाडौँ विमानस्थलमा अवतरण गरेको थियो भने फ्लाइ दुबईको विमान डाइभर्ट भएको छ। एयर अरेबियाको विमान पनि अवतरण गरेका थिए। वर्षाका कारण भिजिबिलिटी कमजोर हुँदा शुक्रबार पनि आन्तरिकतर्फ धेरैजसो उडान रद्द भएको थियो। हिजो अन्तर्राष्ट्रियतर्फ दुई विमान ‘होल्ड’ हुनका साथै धेरै उडान डिले भएका थिए। ‘इन रुट वेदर’ बिग्रिएकाले अन्तर्राष्ट्रिय उडानका विमानलाई पनि अवतरणमा कठिनाइ भएको थियो। शुक्रबार थाइ एयरवेजको विमान करिब दुई घण्टा सिमरामाथिको आकाशमा होल्ड भएको थियो भने इण्डिगो एयर पनि एक घण्टा होल्ड भएर अवतरण भएको थियो।

विमानस्थलका अनुसार शुक्रबार आन्तरिकतर्फ दुईतर्फी ३१६ उडान तालिका रहेकामा २३८ हाराहारी उडान रद्द भएका थिए। नेपाल नागरिक उड्डयन प्राधिकरणले खराब मौसमका कारण शुक्रबार साँझ ७ बजेदेखि शनिबार विहानसम्म आन्तरिकतर्फ सबै उडान स्थगित गरेको थियो। विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले आन्तरिक उडान अहिलेसम्म कतैपनि नभएको बताउनुभयो। ुकाठमाडौँ विमानस्थल खुलेपनि आन्तरिकतर्फ अहिलेसम्म कतैपनि उडान भएको छैन, मौसम र गन्तव्य हेरेर उडानको थप निर्णय हुन्छ,ु उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू