अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०२ | Colorodo: 02:17

रेशम र रञ्जिताबिच सहमति, पार्टीमा दुवै जना अध्यक्ष

बिआरटीनेपाल २०८१ असोज ९ गते ७:०५ मा प्रकाशित

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र संस्थापक नेता रेशमलाल चौधरी बिचको विवाद समाधान भएको छ । दुवै जनाको बिचमा सहमति भएपछि संयुक्त हस्ताक्षरबाट असोज १८ र १९ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको छ । अब सो पार्टीमा दुवै जना अध्यक्ष रहने सहमति भएको छ । पार्टीको प्रथम महाधिवशेनबाट रेशमलाल चौधरी अध्यक्षमा चयन हुनुभएको थियो । तर निर्वाचन आयोगमा परेको उजुरीको कारण उहाँको अध्यक्ष पद विवादमा परेको थियो । त्यसपछि रञ्जिता श्रेष्ठले आफू नै अध्यक्ष रहेको घोषणा गनुृभएको थियो ।

अध्यक्ष पदलाई लिएर दुवै जनाबिच विवाद उत्पन्न भएको थियो । रेशम र रञ्जिता श्रीमान–श्रीमती हुनुहुन्छ । दुवै पक्षबिच विवाद यति उग्र भयो कि पार्टी कार्यालयमा दुवै पक्षका बिच हात हालाहाल समेत भएको थियो । त्यस यता पार्टी दुई गुटमा विभाजित भएको थियो । रेशमलाल चौधरी महाधिवेशनबाट आफू अध्यक्ष भएको दाबी गरिरहँदा रञ्जिता श्रेष्ठले आफू नै सो पार्टीको अध्यक्ष रहेको दाबी गनुृभएको थियो ।

दुवै समूहले प्रदेशदेखि केन्द्रसम्म आ–आफ्नो शक्ति प्रदर्शन गरेका थिए । एउटा पक्षले सरकारमा जाने निर्णय गर्दा अर्को पक्षले फिर्ता बोलाउने निर्णय गरेको हुन्थ्यो । दुवैले एक अर्का पक्षका नेता तथा कार्यकर्तालाई कारबाहीसम्म गरेका थिए । लामो विवादपछि दुवै जनाबिच सहमति भएको पार्टीका एक जना पदाधिकारीले बताएका छन् । महाधिवेशनबाट बनेको अध्यक्षबारे निर्वाचन आयोगमा मुद्दा विचाराधीन रहेका कारण पार्टीमा अध्यक्षको हैसियताले हस्ताक्षर रञ्जिता श्रेष्ठको चल्छ भने बाँकी काम रेशम चौधरीले गर्ने सहमति भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू