अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०० | Colorodo: 02:15

५० लाख घुस प्रकरण– दुई प्रहरीलाई कारबाही सिफारिस

बिआरटीनेपाल २०८१ असोज ८ गते ६:४० मा प्रकाशित

क्रिप्टो कारोबारका आरोपमा थुनामा परेका युवाका आफन्तसँग रकम लेनदेनमा प्रहरी सहायक हवल्दार र एक जवानको भूमिका शंकास्पद भएको निष्कर्ष निकाल्दै छानबिन समितिले प्रतिवेदन बुझाएको छ ।उपत्यका प्रहरी कार्यालयले क्रिप्टो कारोबारमा सोधपुछका लागि थुनामा राखेका युवा आशिष आचार्यको आफन्तबाट ५० लाख रुपैयाँ लिएर छाडेको घटनाको अनुसन्धान गर्न समिति बनाएको थियो । कार्यालयका प्रवक्ता एसएसपी विनोद घिमिरेका अनुसार, छानबिनका क्रममा परिसरको प्रविधि अनुसन्धान शाखामा कार्यरत प्रहरी सहायक हवल्दार गणेश खड्का र जवान साजन शर्माको भूमिका शंकास्पद रहेको खुलेको छ ।

कार्यालयकै प्रहरी उपरीक्षक (एसपी) प्रजित केसीको नेतृत्वमा समिति बनेको थियो । उक्त समितिले छानबिन गरी सोमबार प्रतिवेदन बुझाएको हो । केसीबाहेक काठमाडौं प्रहरी परिसरको टोलीलेसमेत अर्का एसपी नवराज अधिकारीको नेतृत्वमा पनि समिति बनाएको थियो । यद्यपि उनीहरुले रकम लिएकोबारे भने पुष्टि भएको छैन । एसएपी घिमिरेले भन्नुभयो ‘‘खड्का र शर्माको भूमिका केही शंकास्पद देखिएको छ । रकम उनीहरुले ठ्याक्कै लिएको देखिएको त छैन । तर, प्रविधिको विश्लेषण गर्दा उनीहरुको कमजोरी देखिन्छ ।’’

सोमबार एआईजी किरण बज्राचार्यलाई बुझाएको प्रतिवेदनको आधारमा आवश्यक कारबाहीका लागि मंगलबार काठमाडौं प्रहरी परिसरलाई पठाउने तयारी भएको जानकारी एसएसपी घिमिरेले दिनुभयो । क्रिप्टो कारोबारको आशंकामा पक्राउ परेका युवाका दिदीले आशिषकै साथी भक्तपुरका तेजबहादुर तामाङलाई ५० लाख रुपैयाँ काठमाडौंको महाबौद्धमा बुझाएको खुलेको छ । तामाङले ३५ लाख रुपैयाँ आफ्नै बैंक खातामा राखेको पनि खुलेको छ । बाँकी १५ लाख रुपैयाँ भने के गरे त्यो खुलेको छैन ।

उक्त घटनाको छानबिन गर्न छुट्टाछुट्टै कार्यालयबाट समिति गठन भएको थियो । दुई समिति आवश्यक नदेखिएपछि एसपी अधिकारी नेतृत्वको समितिले छानबिन रोकेको थियो । एसपी केसी नेतृत्वको समितिले प्रतिवेदन उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)बज्राचार्यलाई बुझाएको हो । आशिष आचार्य र तेजबहादुर तामाङ दुवै क्यानाडामा सँगै बस्ने रुम पार्टनर हुन् । उनीहरु दुवै जना केही समय पहिलामात्रै नेपाल आएका थिए ।

नेपालमा बस्दा तेजबहादुर तामाङकै सूचनाका आधारमा काठमाडौं प्रहरी परिसरको टोलीले भदौ २१ शुक्रबारका दिन आशिषलाई अनामनगरबाट पक्राउ गरी सोधपुछका लागि परिसरको कार्यालय भद्रकाली लगेको थियो । तेजबहादुर र सहायक प्रहरी हवल्दार गणेश खड्का पहिलादेखि नै चिनजानका साथी हुन् । आशिषलाई दुई दिनसम्म मुद्दा नचलाई थुनामा राखेका थिए । आशिषका दिदीले ५० लाख रुपैयाँ तेजबहादुर तामाङलाई बुझाएपछि मात्रै छुटेका थिए । घटना लगत्तै आशिष र तेजबहादुर दुवै क्यानाडा फर्किएपछि प्रहरीले थप अनुसन्धान गर्न सकेन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू