आइतबार केही सुधारिएको शेयर बजारमा सोमबार पुनः पहिरो गयो ।शेयर बजारको गिरावटबारे चासो राख्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेप्से अवलोकनले पनि बजारको ओराली यात्रा थेगिएन । बिहीबार बजार किन घटेको भन्ने प्रश्नसहित मन्त्री पौडेल नेप्से अवलोकनमा जानुभएको थियो । सोमबार उतार चढावबीच बजार परिसूचक नेप्से ५९ अंकले ओरालो लागेर २५ सय २९ मा आएर थामियो । निरन्तरजसो ओरालो लाग्दै आएको बजार हिजो सम्हालिएकोमा आज पुनः ओरालो लागेको हो ।
सबै समूह राताम्मे रहँदा कारोबार पनि साढें ५ अर्ब हाराहारीमा सीमित रह्यो । वित्त समूहमा सबैभन्दा उच्च साढें ५ प्रतिशतको गिरावट आयो । व्यापार समूहमा ४ प्रतिशतको कमी आयो । होटल समूह पनि ३ प्रतिशत बढीले झर्यो । बाँकी पनि अधिकांश समूह २ प्रतिशत हाराहारीले ओरालो लागे ।
सोमबार नेपाल स्टक एक्सचेन्जमा ३ सय २९ कम्पनीको १ करोड ३६ लाख बराबर कित्ता शेयर जम्मा ५ अर्ब ६६ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यसदिन गुडविल फाइनान्स, समृद्धि फाइनान्स, इष्टिम हाइड्रो र एनआईसी एशिया फ्लेक्क्सी क्यापको शेयरमा नकारात्मक सर्किट लाग्यो । घटेको बजारमा पनि हिमालयन हाइड्रोका लगानीकर्ताले भने करिब १० प्रतिशत कमाए ।