अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३० | Colorodo: 13:45

आर्थिक प्रगति र पर्यावरण संरक्षणलाई सन्तुलित रुपमा अगाडि बढाउँछौं : अर्थमन्त्री पौडेल

बिआरटीनेपाल २०८१ असोज ५ गते ७:१५ मा प्रकाशित

उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक प्रगति र पर्यावरण संरक्षणलाई सन्तुलित रुपमा अगाडि बढाइने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय अर्थशास्त्री विभागद्वारा आयोजित अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘हाम्रो आर्थिक प्रगति र पर्यावरण संरक्षणलाई सन्तुलित रुपमा अगाडि बढाउनु पर्नेछ, विगतमा कुनै त्रुटि भएका छन् भने पनि अब हामी त्यसलाई दोहोर्‍याउन सक्दैनौं ।’

नेपालले वातावरणीय अनुकुलनता, दिगोपना र समानतालाई प्राथमिकता दिनुपर्नै भन्दै उनले दिगो विकासको बाटो आवश्यक रहेको बताउनुभयो । आज संसारले विकास र पर्यावरणीय दिगोपन बीच सन्तुलन मिलाउन गम्भीर चुनौती सामना गरिरहेको भन्दै मन्त्री पौडेलले जलवायु परिवर्तन, जैविक विविधताको ह्रास, वन विनाश, प्रदूषण र प्राकृतिक स्रोतको अत्यधिक दोहन जस्ता समस्या केवल पर्यावरणीय चुनौती मात्र नभइ अर्थतन्त्र, सुरक्षा, र सामाजिक स्थायित्वका लागि पनि गम्भीर खतराका विषय भएको बताउनुभयो ।

हिमालयको काखमा रहेको नेपाल जलवायु परिवर्तनका प्रभावका कारण अत्यन्तै जोखिममा परेका मुलुकमध्येको एक रहेको भन्दै उहाँले हिमनदी पग्लिने समस्या, मनसुनमा आएको परिवर्तन र बाढी तथा पहिरोको संख्या बढ्दै जानु हाम्रो अर्थतन्त्र, विशेषगरी कृषि, जलविद्युत र पर्यटनका लागि चुनौती बनेको बताउनुभयो । नेपाल आफ्नै गतिमा आर्थिक विकासको मार्गमा अगाडि बढिरहेको भन्दै उहाँले सन् २०२६ सम्ममा अतिकम विकसित देशको सूचीबाट स्तरोन्नति हुने तय भइसकेको बताउनुभयो । नेपालसँग हरित अर्थतन्त्रको मेरुदण्ड बन्न सक्ने विशाल प्राकृतिक स्रोत रहेको पौडेलको भनाई छ । जलविद्युत् सम्भावना अझै धेरै हदसम्म उपयोग हुन बाँकी रहेको उहाँले बताउनुभयो ।

दिगो पर्यटनले प्राकृतिक र सांस्कृतिक सम्पदालाई उपयोग गर्ने मार्ग प्रदान गर्ने भन्दै उहाँले इको-पर्यटन, पदयात्रा, र संरक्षण क्षेत्रले रोजगार सिर्जना गर्न, राजस्वमा योगदान पुर्‍याउन, र भविष्यका पुस्ताहरूको लागि हाम्रो वातावरणलाई संरक्षण गर्न सक्ने बताउनुभयो ।

प्रतिक्रिया