अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४३ | Colorodo: 07:58

अमेरिकामा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुने

बिआरटीनेपाल २०८१ असोज ५ गते ६:२३ मा प्रकाशित

अमेरिकामा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता हुने भएको छ । संयुक्त राष्ट्र सङ्घको ७९ औँ महासभामा भाग लिने क्रममा साइडलाइनमा नेपाल र भारतका प्रधानमन्त्रीबीच वार्ता हुने तय भएको हो । द्विपक्षीय भेटवार्ताको लागि नेपालले अघिल्लो हप्ता नै प्रस्ताव गरे पनि भारतले जवाफ दिएको थिएन ।गएराति प्रधानमन्त्री ओली न्यूयोर्क पुग्नुभन्दा केही समयअघि भारतीय पक्षले मोदी द्विपक्षीय भेटवार्ताको लागि तयार रहेको जानकारी दिएको हो । न्युयोर्कको स्थानीय समयअनुसार आइतवार बेलुका साढे ५ बजे ओली र मोदीबीच भेटवार्ता हुने छ ।

भारतीय प्रधानमन्त्री मोदी अमेरिकाको विल्मिङटनमा हुने अमेरिका, अस्ट्रेलिया, जापान र भारत सम्मिलित क्वाड राष्ट्रका नेताहरुको समिटमा भाग लिन जानुभएको हो । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्री एस जयशंकरले गर्नुभएको छ ।ओली र मोदीबीच यसअघि नै थाइल्यान्डमा हुने भनिएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनका बेला साइडलाइनमा भेटवार्ता हुने कार्यक्रम तय गरिएको थियो । तर भदौ १८ र १९ मा हुने भनिएको सम्मेलन थाइल्यान्डको नयाँ राजनीतिक घटनाका कारण स्थगित भयो ।

त्यसपछि अब न्यूयोर्कमा भेटवार्ता हुने भएको हो । ओली पहिलो र दोस्रोपटक प्रधानमन्त्री हुँदा भारत भ्रमणबाटै विदेश यात्रा शुरु गर्नुभएको थियो । यस पटक अमेरिकाबाट विदेश भ्रमण शुरु गर्नुभएको हो । यस पटक प्रधानमन्त्री भएपछि भारतबाट भ्रमणको निम्तो आएको छैन । प्रधानमन्त्री ओलीले परराष्ट्रमन्त्री राणाको भारत भ्रमणको क्रममा मोदीलाई नेपाल भ्रमणको औपचारिक रुपमा निमन्त्रणा पठाउनुभएको छ । परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्नुभएको थियो । त्यो भेटमा पनि भारतले नेपाली प्रधानमन्त्रीलाई भ्रमणको निम्तो नदिनुलाई महत्त्वका साथ हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू