अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३९ | Colorodo: 17:54

सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल

बिआरटीनेपाल २०८१ असोज ३ गते ५:४४ मा प्रकाशित

सरकारले संविधान दिवसको अवसर पारेर बिहीबारदेखि काठमाडौं उपत्यकासहित देशभर चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।बिहीबार काठमाडौं उपत्यकामा सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । कम्पनीले आगामी माघ २ गतेसम्म ४२ जिल्लाका ७४ स्थानमा पर्वोत्सव सुपथ मूल्य पसल सञ्चालन ल्याएको छ । सहुलियत पसलको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा बोल्दै उद्योगमन्त्री भण्डारीले देशभरका ७४ स्थानहरुमा सहुलियत पसल सञ्चालन गरिएको बताउनुभयो । उहाँले अत्यावश्यक वस्तुहरुमा न्युनतम ५ रुपैयाँ सुफथ मूल्य पसल सञ्चालन गरिएको बताउनुभयो । उहाँले सरकारले चाडपर्वमा लक्षित गरेर बजार वस्तुहरु अभाव हुन नदिने गरी पसलहरु सञ्चालनमा ल्याएको बताउनुभयो ।उद्योगमन्त्री भण्डारीले खाद्य व्यापार कम्पनी भित्रका समस्या र चुनौतीहरु धेरै समय नरहने बताउनुभयो । उहाँले खाद्य कम्पनीभित्रका समस्या सम्बोधन सरकारले गर्ने बताउनुभयो । खाद्य व्यवस्था कम्पनीको प्रबन्धपत्रमा उल्लेख गरिएका एक तिहाई काम पनि संस्थाले गर्न नसकेको बताउनुभयो ।

उद्योगमन्त्री भण्डारीले कम्पनीले नेपालको खाद्य बजारमा कृत्रिम अभाव, काटेलिङ र कालोबजारी भन्ने शब्द सुन्न नपाउने गरी काम गर्न निर्देशन दिनुभयो । उहाँले संविधानले नागरिकले खान पाउनुपर्ने मौलिक हकको व्यवस्था गरेको बताउनुभयो । उहाँले पछिल्लो एक दशक संविधानको कार्यान्वयन परीक्षणको काल भएको भन्दै संविधानलाई जति सक्दो कार्यान्वयन गर्न सक्यो त्यति सुशासन कायम हुनसक्ने बताउनुभयो । सरकारले आजदेखि दशैँ, तिहार, छठलगायत विभिन्न चाडपर्वमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तुको सहज र सहुलियत दरमा उपलब्ध गराउन सहुलियत पसल ल्याएको छ । काठमाडौं उपत्यकाको थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकमा कम्पनीले बिक्री कक्ष सञ्चालन गरेको छ ।

सहुलियत पसलमा उपभोक्ताले विभिन्न प्रकारका चामल तथा दालमा प्रतिकिलो पाँच रुपैयाँ, तेल, गेडागुडी, पीठो, मैदा, चिउरा, चिनी, क्वाँटी, कर्णाली सिमी÷गेडागुडी, फापर दाना, चिनो, कागुनो र उवा जुम्ली मार्सीमा प्रतिकिलो सात रुपैयाँ छुट पाउनेछन् । त्यस्तै जिउँदो खसीबोका तथा च्याङ्ग्रा र दुग्ध विकास संस्थानको घ्युमा प्रतिकिलो १० रुपैयाँ छुट दिइने कम्पनीले जनाएको छ । मकवानपुर, तुलसीपुर, मुस्ताङलायत उपत्यका आसपासका क्षेत्रबाट खसीबोका तथा च्याङ्ग्रा ल्याइने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू