अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४२ | Colorodo: 09:57

पार्टी शुद्धीकरणका लागि एमालेद्वारा आचारसंहिता जारी

बिआरटीनेपाल २०८१ असोज २ गते ६:५२ मा प्रकाशित

नेकपा (एमाले) ले पार्टी शुद्धीकरणका लागि आचारसंहिता जारी गरेको छ । वार्षिक कार्ययोजना सार्वजनिक गर्दै एमालेले पार्टीभित्र प्रचलित कानून, सामाजिक प्रबन्ध र नैतिकताका दृष्टिले अनुचित क्रियाकलाप देखा पर्न थालेको भन्दै आज आचारसंहिता जारी गरेको हो ।आर्थिक–सामाजिक क्रियाकलाप, यौन आचरण र नैतिक दृष्टिले गल्ती गर्नेहरूको पक्षमा पार्टीले उदारता देखाएको र पार्टीका बैठकमा कारबाहीको विषय नबनाउँदा त्यस्तो प्रवृत्ति बढेको एमालेको ठहर छ ।

एमालेको वार्षिक कार्ययोजना पोलिटब्युरो बैठकमा छलफल भएर सचिवालयले अन्तिम रूप दिएको थियो । आचारसंहितामा एमालेले आर्थिक पारदर्शिताका लागि सबै कमिटीले आर्थिक कारोबार बैंकिङ प्रणालीमार्फत गर्न निर्देशन दिएको छ ।यस्तै आर्थिक अनियमितता, भ्रष्टाचार, नैतिक आचरणका आरोपी स्वयंले आफूमाथि लागेको आरोपका सत्य–तथ्यका बारेमा पहिलो जानकारी पार्टीलाई गराउने प्रणाली विकास गर्न निर्देशन दिएको छ ।

यस्तै मुद्दाको प्रकृति हेरेर मुद्दा चलाइएकाहरूले कानूनअनुसार छानबिनमा राज्यका निकायहरूलाई सहयोग गर्ने र फैसला नभएसम्म बहाल रहेको पदबाट निलम्बन गर्ने, दोषी ठहरिएमा मात्र पदमुक्त गर्ने पनि आचारसंहितामा उल्लेख छ । यस्तै एमालेको वार्षिक कार्ययोजनामा पार्टी र नेतृत्वविरुद्ध चरित्रहत्या गर्ने तथा सामाजिक सञ्जालमा भ्रमपूर्ण विषय सम्प्रेषण भइरहेको भन्दै त्यसको सङ्गठित रूपमा प्रतिवाद गर्न निर्देशन दिइएको छ । पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन एमालेले वार्षिक कार्ययोजनामा विभिन्न योजना समावेश गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू