अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०६ | Colorodo: 05:21

गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा निर्माण अन्तिम चरणमा

बिआरटीनेपाल २०८१ असोज १ गते ७:३९ मा प्रकाशित

गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्न गठित चार सदस्यीय कार्यदलले मस्यौदा निर्माणको कामलाई अन्तिम चरणमा पुर्‍याएको छ । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेका दुईरदुई जना नेता सम्मिलित कार्यदलले तीनचार दिनयता गृहकार्य गरेर कार्यक्रमको मस्यौदा तयार पारिरहेका छन् । कार्यदल सदस्य तथा कांग्रेस नेता डा। प्रकाशशरण महतले कार्यदलले काम गरिरहेको भन्दै बुधबार बेलुकासम्म मस्यौदालाई अन्तिम रूप दिने तयारी भएको बताउनुभयो ।

‘हामीले न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरिरहेका छौ, सकेसम्म बुधबार बेलुकाभित्र टुङ्ग्याउने तयारी छ’, नेता महतले भन्नुभयो, ‘मस्यौदा तयार गरेर शीर्ष नेतालाई ब्रिफिङ गर्ने तयारी छ ।’ कार्यदल सदस्यहरूका अनुसार न्यूनतम साझा कार्यक्रम बजेट र सरकारको नीति तथा कार्यक्रमसँग मेल खानेगरी तयार गरिएको छ । कार्यदलमा काँग्रेसका तर्फबाट महामन्त्री गगन थापा र नेता प्रकाशशरण महत हुनुहुन्छ भने एमालेबाट उपमहासचिवहरू प्रदीप ज्ञवाली र विष्णु रिमाल रहनुभएको छ ।

नेता महतले कार्यदलले मस्यौदा निर्माणको काम समयमै सकेमा प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिका जानु अघि नै सार्वजनिक गर्ने तयारी भएको पनि जानकारी दिनुभयो । ‘सकभर प्रधानमन्त्रीज्यू अमेरिका जानुअघि नै न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने सरकारको सोच हो । त्यही अनुसार हामीले काम गरिरहेका छौँ’,महतले भन्नुभयो, ‘सकेसम्म चाँडो गर्ने प्रयास छ ।’ प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै असोज ४ गते महासभामा भाग लिन अमेरिका जाँदैहुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू