अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४२ | Colorodo: 09:57

अरविन्द केजरीवालद्वारा राजीनामा, आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्ने

बिआरटीनेपाल २०८१ असोज १ गते ६:५६ मा प्रकाशित

भारतको दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिनुभएको छ । केजरीवालले दिल्लीका उपराज्यपाल भीके सक्सेनासमक्ष राजीनामा बुझाउनुभएको बीबीसी हिन्दीले जनाएको छ ।अब आतिशी मार्लेना दिल्लीको नयाँ मुख्यमन्त्री बन्नु हुने भएको छ । आज बसेको आम आदमी पार्टीको विधायक दलको बैठकले आतिशीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । दिल्ली सरकारका मन्त्री गोपाल रायले आतिशी कठिन परिस्थितिमा दिल्लीको मुख्यमन्त्री बन्न लागेको बताउनुभएको छ ।

विधायक दलको बैठकमा केजरीवालले नै आतिशीको नाम प्रस्ताव गर्नुभएको थियो । आतिशी आउँदो विधानसभा चुनावसम्म दिल्लीको मुख्यमन्त्री रहनु हुनेछ । यसैबीच आतिशीले नयाँ मुख्यमन्त्री बन्नका लागि दाबी पेश गर्नुभएको खबरमा उल्लेख छ । दिल्लीले आतिशीलाई तेस्रो महिला मुख्यमन्त्रीका रूपमा पाउने भएको छ । यसअघि सुषमा स्वराज र शीला दीक्षित दिल्लीको मुख्यमन्त्री बन्नुभएको थियो । मुख्यमन्त्री केजरीवाल जेलमा रहेका बेला आतिशीले सरकारको अहम् जिम्मेवारी सम्हाल्नुभएको थियो ।

दिल्लीको रक्सी बिक्रीसम्बन्धी नीतिमा घोटाला गरेको आरोपमा जेलमा रहेका केजरीवाल सर्वाेच्च अदालतको आदेशपछि यही सेप्टेम्बर १३ मा रिहा हुनुभएको थियो । त्यसको दुई दिनपछि पार्टी कार्यालयमा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उहाँले राजीनामा दिने घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू