अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४६ | Colorodo: 19:01

सहकारी ठगीमा मेरो संलग्नता नभएको पुष्टि भएको छ : सभापति लामिछाने

बिआरटीनेपाल २०८१ भदौ ३१ गते ५:४६ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको पुष्टि भएको दाबी गर्नुभएको छ ।प्रतिनिधिसभाकाे आजकाे बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनअनुसार आफू सहकारी ठगीमा संलग्न नभएको पुष्टि भएको दाबी गर्नुभएको हो ।लामिछानेले सहकारीबाट गोर्खा मिडियामा आएको पैसा चलाउने क्रममा आफू प्रबन्ध निर्देशक भएको नाताले हस्ताक्षर भने आफ्नै चलेको बताउनुभयो । उहाँले गोर्खा मिडिया सञ्चालनका क्रममा भएका कमी, कमजोरीहरूको भने आफू भागीदार हुने उल्लेख गर्नुभयाे ।

‘जुन कुरामा लाञ्छना लागेको थियो त्यो कुरामा समितिले स्पष्ट पारेको छ । बाँकी प्रचलित कानूनअनुसार कहीँ कतै गडबढ गरेको भए सजायको भागीदार हुनुपर्छ नि । गोर्खा मिडिया सञ्चालनका क्रममा मबाट गलत भएको रहेछ भने, कसैले ल्याएको पैसा सञ्चालन गर्ने क्रममा मबाट गल्ती भएको रहेछ भने त्यसको भागीदार हुनुपर्छ । सहकारी ठगीमा मेरो संलग्नता नभएको कुरा स्पष्ट भएको छ ।’ संसदीय छानबिन विशेष समितिले आज प्रतिनिधिसभामा पेश गरेको प्रतिवेदनमा सूर्यदर्शनसहितका पाँच वटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियाले अपचलन गरेको निष्कर्ष निकालेको छ । साथै गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई प्रचलित कानून बमोजिम कारबाही गर्न सिफारिश गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू