अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४६ | Colorodo: 20:01

मनसुन सुरु भएपछिका ९० दिन स् विपद्का घटनाबाट २२५ जनाको मृत्यु, ४९ जना बेपत्ता

बिआरटीनेपाल २०८१ भदौ ३० गते ६:५९ मा प्रकाशित

मनसुनजन्य विपद्का घटनाबाट पछिल्लो ९० दिनमा नेपालमा २२५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, यस वर्ष नेपालमा मनसुन सुरु भएपछिको ९० दिनमा मनसुनजन्य विपद्का घटनामा परी उनीहरूको मृत्यु भएको हो । यो वर्ष जेठ २८ गते नेपालमा मनसुन प्रवेश गरेको थियो । ०८१ जेठ २८ देखि भदौ २२ गतेसम्मको ९० दिनको अवधिमा मनसुनजन्य विपद्का घटनामा परी ४९ जना बेपत्ता भएको प्राधिकरणले जनाएको छ ।

सोही अवधिमा मनसुनजन्य विपद्का घटनामा परी २८४ जना घाइते भएका छन् । गत वर्ष यसै अवधिमा मनसुनजन्य विपद्का घटनामा परी ८५ जनाको मृत्यु भएको थियो भने २९ जना बेपत्ता भएका थिए । गत वर्ष मनसुनजन्य विपद्का घटनामा परी १२६ जना घाइते भएका थिए । अघिल्लो वर्षको मनसुन सुरु भएपछिको तीन महिनाको अवधिको तुलनामा यस वर्ष सोही अवधिमा मनसुनजन्य विपद्का घटनामा परी मृत्यु हुनेको संख्या साढे दुई गुणाभन्दा बढी छ ।

प्राधिकरणका अनुसार, बितेको तीन महिनामा मनसुनजन्य विपद् प्रभावित परिवारको संख्या चारहजार ६१५ रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो प्रभावित परिवारको संख्या ६ हजार ३० थियो । यस वर्ष मनसुनजन्य विपद्‌बाट सबैभन्दा धेरै वाग्मती प्रदेशमा ५७ जनाको र सबैभन्दा कम मधेस प्रदेशमा पाँच जनाको मृत्यु भएको छ । मनसुनजन्य विपद‌्‌मध्ये सबैभन्दा धेरै पहिरोबाट १३५ जना र सबैभन्दा कम भारी वर्षाबाट एक जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

यस अवधिमा बाढीका २८५, पहिरोका ६९१, भारी वर्षाको ४१५ र चट्याङका १९३ गरी कुल एकहजार ५८४ मनसुनजन्य विपद्का घटना रेकर्ड भएका थिए । जसमा बाढीका घटनामा परी ४९, पहिरोका घटनामा परी १३५, चट्याङ लागेर ४० र भारी वर्षाका कारण एक जनाको मृत्यु भएको हो । प्राधिकरणका अनुसार, बाढीका घटना ११ र पहिरोमा परी ३८ जना बेपत्ता छन् । यस्तै, मनसुनजन्य विपद्का घटनापछि खोज तथा उद्धारमा नेपाल प्रहरीबाट आठ हजार २५२, सशस्त्र प्रहरीबाट पाँच हजार ८१७ र नेपाली सेनाबाट चार हजार ७०८ जना गरी कुल १८ हजार ७७७ जनशक्ति खटिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू