अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३७ | Colorodo: 18:52

दिल्लीका मुख्यमन्त्री केजरीवालले राजीनामा दिने, आफूलाई इमान्दार प्रमाणित गर्न नागरिकमाझ जाने

बिआरटीनेपाल २०८१ भदौ ३० गते ४:४५ मा प्रकाशित

भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दुई दिनपछि पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । जेलबाट रिहा भएको दुई दिनपछि आज आम आदमी पार्टीको कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले दुई दिनपछि मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्नुभएको हो ।

केजरीवालले भन्नुभएको छ, ‘म नागरिकको बीचमा जान्छु, सडकमा जान्छु, घरमा जान्छु र उनीहरुले केजरीवाल इमान्दार छन् भन्ने निर्णय नगरेसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्दिनँ ।’ आम आदमी पार्टीलाई भङ्ग गर्न र आफूलाई डर देखाउने योजनाका साथ मोदी सरकारले जेल पठाएको आरोप लगाउँदै केजरीवालले जेलमा बिताएका दिनले मनोबल बढेको उल्लेख गर्नुभएको छ ।

भाजपाको कुशासन, मनपरी र अधिनायकवादविरुद्ध बोल्ने जो कोही पनि भारतमा असुरक्षित रहेको उहाँको भनाइ छ ।  ‘जब राम १४ वर्षपछि निर्वासनबाट आए, सीताजीलाई पनि अग्नि परीक्षा दिनुपर्‍यो । म पनि नागरिकको सामुन्ने अग्नि परीक्षा दिन तयार छु ।’ केजरीवालले भन्नुभएको छ ।

लोकतन्त्र बलियो बनाउनकै लागि आफूले जेलबाट राजीनामा नदिएको उहाँको भनाइ छ । भारतीय जनता पार्टीका नेताले भने राजीनामा दिने केजरीवालको घोषणालाई सस्तो प्रचारबाजी र नाटकको सङ्ज्ञा दिएका छन् । आउँदो दुई–तीन दिनभित्र संसदीय दलको बैठक बसेर नयाँ मुख्यमन्त्रीको नाम तय हुने केजरीवालले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू