अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५० | Colorodo: 19:05

अमेरिकी राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीबीच भेट : युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्न दिने विषयमा ठोस निर्णय भएन

बिआरटीनेपाल २०८१ भदौ २९ गते ७:३० मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री किअर स्टार्मरबीच भेटवार्ता भएको छ । अमेरिका भ्रमणमा रहेका बेलायतका प्रधानमन्त्री स्टार्मर र बाइडेनबिच ह्वाइट हाउसमा भेटवार्ता भएको हो । यो वार्ता मुख्यगरी रुसविरुद्ध युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्न अनुमति दिने विषयमा केन्द्रित हुने ठानिएको थियो । तर यसबारेमा कुनै नयाँ निर्णय नभएको बीबीसीले उल्लेख गरेको छ ।बाइडेन र स्टार्मरको भेट हुनुअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी देशले युक्रेनलाई रुसमाथि लामो दूरीका क्षेप्यास्त्र प्रहार गर्ने अनुमति नदिन चेतावनी दिनुभएको थियो । साथै उहाँले पश्चिमा देशमा बनेका लामो दूरीका अस्त्र युक्रेनले प्रयोग गर्नु भनेको युक्रेन युद्धमा नेटो देशहरू–अमेरिका र युरोपेली देश नै सहभागी भएको अर्थ लाग्ने प्रतिक्रिया दिनुभएको थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यसअघि युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति दिन सकिने सङ्केत गर्नुभएको थियो । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमा साझेदारलाई सीमापारि रहेका निसानामा आक्रमण गर्न उपलब्ध लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति माग्दै आउनुभएको छ । बेलायतका प्रधानमन्त्री स्टार्मरले रुसले लडाइँ शुरु गरेको अहिले पनि उसले गैरकानुनी काम गरेको बताउँदै आउनुभएको छ । वाशिङ्टनबाट फर्किएपछि उहाँ इटलीका प्रधानमन्त्री जोर्जा मेलोनीसँग भेट गर्न रोम जाने तयारी छ । त्यसको एक हप्तापछि संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन विश्वका नेताहरू न्यूयोर्कमा भेला हुने छन् ।

यसैबीच रुसले जासुसी गरेको आरोपमा ६ बेलायती कूटनीतिज्ञको मान्यता रद्द गरेको छ । बेलायतको विदेश मन्त्रालयले आफ्ना कूटनीतिज्ञमाथि लागेको आरोपलाई पूर्णतया आधारहीन भएको प्रतिक्रिया जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू