चीनमा जागिरबाट अवकाशको उमेर बढाउने प्रस्ताव स्वीकृत भएको छ । चीनको सबैभन्दा उच्च विधायकी निकायले अनिवार्य अवकाशको कानूनी व्यवस्थामा संशोधन गर्ने प्रस्ताव स्वीकृत गरेको बीबीसीले जनाएको छ । योसँगै चीनमा साढे सात दशकपछि पहिलो पटक अवकाशको उमेर बढ्ने भएको छ । यो व्यवस्था सन् २०२५ को जनवरी १ तारिखदेखि लागू हुने छ ।नयाँ व्यवस्था अनुसार अब ‘ब्लू कलर जब’ भनिने श्रमको काम गर्ने महिलाको अवकाश उमेर ५० बाट बढेर ५५ वर्ष पुगेको छ । यस्तै ‘ह्वाइट कलर जब’ भनिने बौद्धिक काम गर्ने महिलाको अवकाश उमेर ५५ वर्षबाट बढेर ५८ वर्ष पुगेको छ । पुरुषको अवकाश उमेर ६० वर्षबाट बढाएर ६३ पुर्याएकाे छ । कानूनले दिएको उमेर हदभन्दा अगाडि अवकाशमा रोक लगाएको चीनको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ । ज्येष्ठ नागरिकको बढ्दो जनसङ्ख्यासँगै उपदान रकम जुटाउन समस्या भएपछि चीन सरकारले अवकाशको उमेर बढाएको हो ।
यस्तै पेन्सन पाउनका लागि सन् २०३० देखि कर्मचारीले सामाजिक सुरक्षा प्रणालीमा अहिलेभन्दा धेरै योगदान गर्नुपर्ने छ । सन् २०३९ देखि पेन्सन पाउनका लागि उनीहरूले २० वर्ष योगदान दिनैपर्ने नियम लागू हुनेछ । चीनमा अहिले ५० देखि ६० वर्षबीचको उमेर समूहमा झन्डै ३० करोड मानिस छन् । अबको एक दशकमा उनीहरुले जागिरबाट अवकाश पाउँदा उनीहरुको व्यवस्थापनमा ठूलो चुनौती हुने चीन सरकारको चिन्ता छ । चीनको जनसङ्ख्या सन् २०२३ मा लगातार दोस्रो वर्ष पनि घट्दो क्रममा देखिएको छ । औषत आयु भने बढेर ७८ दशमलव २ वर्ष पुगेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०४० सम्म चीनको एक तिहाइ अर्थात् ४० करोड जनसङ्ख्या ६० वर्षभन्दा माथिका मानिसको हुनेछ । चीनमा आठ वर्ष अघि नै एक सन्तान नीति खारेज गरे पनि जनसङ्ख्या बढ्न सकेको छैन ।