प्रजातान्त्रिक गणतन्त्र (डीआर) कङ्गोको सैन्य अदालतले राष्ट्रपतिलाई सत्ताच्युत गर्न प्रयास गरेको आरोपमा ३७ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । ३७ मध्ये तीन जना अमेरिकी, एक जना बेलायती, एक जना बेल्जिअन र एक जना क्यानडेली नागरिक रहेका बीबीसीले जनाएको छ । उनीहरुमाथी गएको मे महिनामा राष्ट्रपति निवासमा भएको आक्रमणको नेतृत्व गरेको आरोप लगाइएको छ । ५१ जना विरुद्ध सैन्य अदालतमा मुद्दा चलाएकोमा १४ जना निर्दोष ठहर भएका छन् ।
फैसला सुनाएको अदालतले बेलायती नागरिक युसुफ इजाङ्गीले ‘कू’ प्रयासमा संलग्न हुनका लागि मानिस जुटाएको उल्लेख गरेको छ । दोषी ठहर भएकासँग पुनरावेदनका लागि पाँच दिनको समय छ । गएको मे १९ तारिखको बिहानै राजधानी कन्शासमा भएको एउटा ‘कू’ प्रयासलाई सुरक्षा फौजले निस्तेज पारिदिएको त्यहाँको सेनाले जनाएको थियो ।
डीआर कङ्गोमा झण्डै दुई दशकमा मृत्युदण्ड कार्यान्वयन गरिएको छैन । मृत्युदण्डको सजाय पाउनेले आजीवन कारावास बेहोर्ने गरेका छन् । अथाह खनिज र विशाल जनसङ्ख्या भएको देश डीआर कङ्गोमा द्वन्द्व, भ्रष्टाचार र सुशासनको अभावमा धेरै मानिसले कठिन जीवन बिताइरहेका छन् । धेरैजसो प्राकृतिक स्रोत हिंसाग्रस्त क्षेत्रमा छन् ।