रुसविरुद्ध युक्रेनलाई लामा दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति नदिन रुसले पश्चिमा देशलाई चेतावनी दिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई रुसविरुद्ध लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति नदिन चेतावनीसहित यदी रुसविरुद्ध ती क्षेप्यास्त्र प्रयोग गरिए नेटोले रुससँग युद्ध गरेको अर्थ लाग्ने बताउनुभएको बीबीसीले जनाएको छ । उहाँका अनुसार पश्चिमा देशमा बनेका लामो दूरीका अस्त्र युक्रेनले प्रयोग गर्नु भनेको युक्रेन युद्धमा नेटो देशहरू–अमेरिका र युरोपेली देश नै सहभागी भएको अर्थ लाग्नेछ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले दुई दिनअघि युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति दिन सकिने सङ्केत गर्नुभएको थियो । लगत्तै रुसी सरकारी टेलिभिजनले राष्ट्रपति पुटिनको धारणा सार्वजनिक गरेको हो । अमेरिकी राष्ट्रपति बाइडेनले अमेरिका भ्रमणमा रहेका बेलायतका प्रधानमन्त्री किअर स्टार्मरसँग युक्रेनलाई रुसविरुद्धको युद्धमा लामो दूरीसम्म प्रहार गर्न सकिने क्षेप्यास्त्र प्रयोग गर्न दिने गरी प्रतिबन्ध फुकुवा गर्ने बारे छलफल गर्न लाग्नुभएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमा साझेदारलाई सीमापारी रहेका निसानामा आक्रमण गर्न उपलब्ध लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति माग्दै आउनुभएको छ ।