अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२४ | Colorodo: 23:39

पोखरा बजार क्षेत्र भित्रको तीन सय ८९ रोपनी जग्गा सरकारको नाममा दर्ता

बिआरटीनेपाल २०८१ भदौ २८ गते ६:०२ मा प्रकाशित

कास्कीको पोखरा बजार क्षेत्र भित्रको तीन सय ८९ रोपनी तीन आना दुई पैसा जग्गा सरकारको स्वामित्वमा आएको छ । यसअघि गएको भदौं १७ गते स्थलगत अवलोकनमा पोखरा पुगेर भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले मालपोत र नापी कार्यालय कास्कीका प्रमुखसँग छलफल गरी अतिक्रमित जग्गा सरकारको नाममा ल्याउन निर्देशन दिनुभएको थियो । सबै कानुनी आधार पूरा गरेर अतिक्रमित जग्गा सरकारको नाममा ल्याएको कास्कीका मालपोत प्रमुख रामचन्द्र अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार व्यक्तिकाे नाममा दर्ता भएका, लामो समयसम्म कानूनी रूपमा सरकारको नाममा आउन नसकेका, हदबन्दीभन्दा बढी भएको छानविनबाट प्राप्त र व्यक्तिले उपभोग गरेका सार्वजनिक, सरकारी प्रकृतिका जग्गा सरकारको स्वामित्वमा ल्याइएको हो । पोखरा महानगरपालिकाको वडा एक पि.एन.क्याम्पससँग साँध सिमाना जोडिएको झन्डै दुई सय २२ रोपनी, वडा एक कै २५ रोपनी, वडा ६ को साविक क्षेत्रबहादुर रानाभाटको नाममा दर्ता भएको ३६ रोपनी, ढिकुरपोखरी वडा–५ को ९७ रोपनीलगायतको जग्गा सरकारको नाममा आएको मालपोत कार्यालय कास्कीका प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया