अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५० | Colorodo: 03:05

सन्दीपलाई अमेरिकाले दियो भिसा

बिआरटीनेपाल २०८१ भदौ २७ गते ७:०५ मा प्रकाशित

क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाउनुभएको छ । केही दिन अगाडि नै उहाँको भिसा लागेको निकट स्रोतले बताएको छ । आइसीसी विश्वकप लिग २ खेल्नका लागि सन्दीप लगायत खेलाडीहरुलाई अमेरिकी दूतावासले भिसा उपलब्ध गराएको हो । नेपाली टोली उक्त त्रिकोणात्मक सिरिजका लागि मंगलबार राति क्यानाडा उडिसकेको छ । सन्दीप पनि टिमसँगै रहनुभएको छ ।क्यानडामा लिग २ खेलेपछि नेपाली टिम अमेरिका जाने तालीका छ । नेपालले सेप्टेम्बर १६ र २२ मा क्यानाडासँग र सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्ने छ । दुवै देशसँग नेपालले त्रिकोणात्मक टि २० सिरिज पनि खेल्ने छ । क्यानाडासँग सेप्टेम्बर २८ र अक्टोबर १ मा तथा ओमानसँग सेप्टेम्बर २९ र अक्टोबर २ तारिखमा नेपालले टि २० म्याच खेल्नेछ ।

क्यानाडापश्चात अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ । त्यहाँ नेपाल अमेरिका र स्कटल्यान्डले प्रतिस्पर्धा गर्नेछन् । यसअघि अमेरिकामै आयोजना भएको टि २० विश्वकपमा जान सन्दीपले अमेरिकाको भिसा पाउनुभएको थिएन। दुई पटकको प्रयासमा पनि अमेरिकी दूतावासले उनलाई भिसा दिन इन्कार गरेको थियो । यसपाली भने पहिलो प्रयासमै सहजरुपमा भिसा प्राप्त गरेको स्रोतले बताएको छ । भिसाको अवधि भने तीन महिनाको मात्र छ । स्मरणीय छ कि नेपाली टिम क्यानाडा प्रस्थान गर्नुअघि विहीबार आयोजित पत्रकार सम्मेलनमा क्रिकेट संघका सचिव पारस खड्काले सन्दीपको भिसा लागेको कुरा गोप्य राख्नुभएको थियो । पत्रकारले यस विषयमा प्रश्न गर्दा उहाँले दूतावासबाट ग्रीन सिग्नल रहेको मात्र बताउनुभयो । उहाँले घुमाउरो तरिकाले भन्नुभएको थियो, ‘केस क्लोज भइसकेकाले हामीलाई विश्वास छ कि यो विषय सकियो । हामी सबै नयाँ सोच विचारबाट अगाडि बढ्नुपर्छ ।’

प्रतिक्रिया