अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३० | Colorodo: 20:45

अत्यावश्यक वस्तुको सहज उपलब्धताको ग्यारेन्टी सरकारले गर्छ : उद्योगमन्त्री भण्डारी

बिआरटीनेपाल २०८१ भदौ २७ गते ५:२६ मा प्रकाशित

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चाडवाडमा दुर्गम क्षेत्रमा अत्यावश्यक वस्तुको अभाव हुन नदिनेगरी सुपथ मूल्यमा खाद्यान्नहरु उपलब्ध गराइने बताउनुभएको छ ।बिहीबार साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ६२ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उद्योगमन्त्री भण्डारीले यस्तो बताउनुभएको हो ।मन्त्री भण्डारीले अत्यावश्यक वस्तुहरुको अभाव हुन नदिन थप योजना, व्यवसायिकता वृद्धि गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले साल्ट ट्रेडिङ कर्पोरेशनको व्यवसायिकता बिस्तार गर्ने र अझ सेवा प्रवाहमा सहज गर्ने कुरामा मन्त्रालयले आवश्यक योजना बनाइरहेको बताउनुभयो ।

मन्त्री भण्डारीले सरकारले मन्त्रीपरिषद्को बैठकबाट चिनीको आपूर्ति सहज बनाउन ५० प्रतिशत भन्सार छुट दिएको बताउनुभयो । उहाँले असोजको ७ गतेबाट सुपथ मूल्यका पसलहरु देशभर ४२ वटा जिल्लामा सञ्चालन हुने जानकारी दिनुभयो । उहाँले चामल, दालमा ५ रुपैयाँ छुट दिने र चिनीमा अहिलेको बजार १०७ रहेको र घटाउने योजना बनाइरहेको बताउनुभयो ।

मन्त्री भण्डारीले कृत्रिम अभाव सिर्जना गर्न नदिने पनि दाबी गर्नुभयो । चिनी, दाल, चिउरा, नुन, मैदा लगायतका अत्यावश्यक वस्तुमा मूल्य समायोजन गरी आम उपभोक्तालाई सहज रुपमा गुणस्तरीय वस्तु उपलब्ध गराउने सरकारको उद्देश्य रहेको बताउनुभयो । मन्त्री भण्डारीले अत्यावश्यक वस्तुको सहज उपलब्धताको ग्यारेन्टी सरकारले गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू