अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४८ | Colorodo: 03:03

संवैधानिक परिषद्को बैठक स्थगित

बिआरटीनेपाल २०८१ भदौ २६ गते ६:३७ मा प्रकाशित

संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले बुधबार अपराह्न ५ बजेका लागि बोलाइएको बैठक स्थगित भएको जानकारी दिनुभयो। उपसभामुखलाई हटाउने विषयमा सत्ता र प्रतिपक्षी दलबीच बढ्दो विवादका कारण उत्पन्न असहज स्थितिका कारण बैठक स्थगित भएको बताइएको छ ।सत्ता पक्षले उपसभामुख इन्दिरा रानाबारे प्रश्न उठाउँदै उनलाई हटाउन खोजेको छ भने प्रतिपक्षी दलले यसको विरोध गर्दै आएको छ । यही विषयमा मंगलबार र बुधबारको प्रतिनिधिसभा बैठकमा पक्ष विपक्षमा चर्को बहस भएको थियो । यस्तो पृष्ठभूमिमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा बस्ने गरी बोलाएको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो । बैठकबाट सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिस गर्ने तयारी थियो ।

संवैधानिक परिषदमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभाको अध्यक्ष,प्रतिनिधिसभाको विपक्षी दलको नेता र प्रतिनिधिसभाको उपसभामुखका सदस्य रहने संवैधानिक व्यवस्था छ। न्याय परिषद्ले यही भदौ २० गते नै ८ न्यायाधीशको नाम परिषदमा पठाएको थियो। हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आगामी असोज २० गतेबाट अवकाश पाउँदै छन्। संविधानमा बहालवाला प्रधानन्यायाधीश अवकाश हुनुभन्दा एक महिनाअघि नै भावी प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था भएपनि हालसम्म सिफारिस हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू