अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३८ | Colorodo: 05:53

चिनियाँ विद्युतीय गाडीमा कर बढाउने योजनामा ‘ईयू’ ले पुनर्विचार गर्न आवश्यक : स्पेनी प्रधानमन्त्री

बिआरटीनेपाल २०८१ भदौ २६ गते ६:१३ मा प्रकाशित

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले चिनियाँ विद्युतीय गाडीको आयातमा ३६ प्रतिशतसम्म कर लगाउने योजनामा युरोपेली सङ्घ (ईयू) ले पुनर्विचार गर्न आवश्यक रहेको बताउनुभएको छ । आज स्पेनी प्रधानमन्त्रीले कर लगाउने योजनामा पुनर्विचार गर्न आवश्यक रहेको बताउँदै दुई आर्थिक शक्तिबीच सम्झौता गर्न आह्वान गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ ।युरोपेली आयोगले गएको महिना चीनबाट आयात हुने विद्युतीय गाडीमा पाँच वर्षका लागि ३६ प्रतिशतसम्म कर लगाउने घोषणा गरेको थियो । त्यसलगत्तै बेइजिङले चीनमा आयात गरिएका केही दुग्ध उत्पादनहरूमा ईयूको अनुदानबारे अनुसन्धान शुरू गर्ने बताएको थियो । रचनात्मक ढङ्गबाट चीन र युरोपेली आयोगबीच सम्झौता गरेर समाधान खोज्ने प्रयास गर्ने उहाँको भनाइ छ ।

यसैबीच स्पेनी प्रधानमन्त्री सान्चेजले चीन भ्रमणका क्रममा राष्ट्रपति सी जिनपिङ लगायत शीर्ष अधिकारीहरूसँग भेट गरेर संवाद र सहयोगको आह्वान गर्नुभएको छ । युरोपेली सङ्घ र चीनबीच बढ्दो व्यापारिक तनावबीच सान्चेजले चीनको भ्रमण गर्नुभएको हो । चीन र युरोपेली सङ्घबीच पछिल्ला वर्षहरूमा व्यापार, प्रविधि र राष्ट्रिय सुरक्षासम्बन्धी विभिन्न मुद्दाहरूमा मतभेद चलिरहेको छ । युरोपेली आयोगका एक अधिकारीले ईयू चीनसँगको व्यापारिक विवाद समाधान गर्न तयार रहेको र वार्ताका लागि अन्य आवश्यक पहल चीनमा निर्भर गर्ने बताउनुभयो । चीनले ईयूको अतिरिक्त शुल्क योजनाविरुद्ध विश्व व्यापार सङ्गठनमा अपिल गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू