अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२७ | Colorodo: 00:42

सभामुखको रुलिङको विरोधमा माओवादी केन्द्र

बिआरटीनेपाल २०८१ भदौ २६ गते ५:४७ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र)ले सभामुखले गरेको रुलिङप्रति आपत्ति जनाउँदा प्रतिनिधि सभा बैठक आगामी आइतबारसम्म धकेलिएको छ ।गत भाद्र १२ गतेको बैठकमा एमाले सांसद योगेश भट्टराईले माओवादी जनयुद्धलाई हिंसा भनेको भन्दै सो शब्द संसदको रेकर्डबाट हटाउन माओवादी केन्द्रले माग गरेको थियो ।सभामुखले आवश्यक अध्ययन गरेर निर्णय लिन भन्दै सचिवालयलाई निर्देशन दिनुभएको थियो । सोही विषयको सन्र्दमा बुधबारको बैठकमा सभामुख देवराज घिमिरेले सांसद भट्टराईले प्रयोग गरेको हिंसा भन्ने शब्द असंसदीय नदेखिएको भन्दै संसदको रेकर्डबाट नहट्ने रुलिङ गर्नुभएको थियो ।

सो रुलिङ संविधान विपरित भएको भन्दै माओवादी केन्द्रका सांसदहरुले आपत्ति जनाएका हुन् । बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले आफूहरुले रुलिङको बिरोध गर्ने बताउनुभयो । संविधान विपरित हिंसा शब्द प्रयोग भएको भन्दै आफूहरुले त्यसलाई नमान्ने बताउनुभयो ।लगत्तै नेकपा (एमाले)का सांसद रघुजी पन्तले हिंसा शब्द आफैँमा असंसदीय नभएको बताउनुभयो । उहाँले संसदमा कसैलाई व्यक्ति किटेर भन्न भने नपाइने बताउनुभयो । उहाँले सभामुखले संविधान र कानूनसम्मत रुलिङ गर्नुभएको भन्दै रुलिङलाई मानेर अघि बढ्नुपर्ने बताउनुभयो ।

बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले सभामुखको रुलिङप्रति माओवादी केन्द्रको गम्भीर आपत्ति रहेको बताउनु भयो । उहाँले सो शब्द सच्याउन माग गर्नुभयो ।पुनः बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सभामुखको रुलिङ संविधान विपरित भएको भन्दै स्वीकार्य नहुने दोहोर्याउनुभयो ।  यसरी माओवादी केन्द्रले सभामुखको रुलिङप्रति असन्तुष्टि व्यक्त गर्दा प्रतिनिधि सभा बैठक भदौ ३० गतेसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू