अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५४ | Colorodo: 03:09

आन्तरिक एकता सुदृढ गरौँ, माओवादीलाई कसैले हल्लाउन सक्दैन – प्रचण्ड

बिआरटीनेपाल २०८१ भदौ २५ गते ६:५० मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र कार्यान्वयनमा जनताको साथ र खबरदारी आवश्यक रहेको बताउनुभएको छ । सिरहाको मिर्चैया नगर समितिले गरेको कार्यकर्ता भेटघाटको क्रममा उहाँले जनताको संघर्षका बलमा जारी भएको संविधानको रक्षा र कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । प्रचण्डले संविधान जारी भएपछि मधेशका जनतालाई पनि विश्वासमा लिएर आफूले संविधान कार्यान्वयन गर्ने महत्त्वपूर्ण जिम्मेवारी पूरा गरेको स्मरण गर्नुभयो ।

प्रचण्डले भन्नुभयो, ‘संघीयतासहित समावेशी र समानुपातिक प्रतिनिधित्वको सिद्धान्तले सयौँ वर्षदेखि उत्पीडनमा परेका जनतालाई अधिकार सम्पन्न बनाएको छ, अब यसको पूर्ण कार्यान्वयनमार्फत जनताको अवस्था बदल्ने बेला आएको छ, यसमा जनताको साथ सहयोग अपरिहार्य छ।’ आफूले सरकारको नेतृत्व गर्दा वर्षौँ पुराना तराई मधेशका समस्यालाई ध्यान दिएर काम उहाँको भनाई थियो ।

‘हामीले सुशासन, सामाजिक न्याय र समृद्धिको एजेन्डालाई प्राथमिकताका साथ अघि बढाइरहेका छौँ, मैले सरकारको नेतृत्व गरेको बेलामा यी एजेन्डामा पनि अझ बढी मधेशका समस्या समाधानमा ध्यान दिने प्रयास गरेँ। वर्षौँ पुरानो मिटरब्याजको समस्या कानुन बनाएर नै समाधान गरिएको छ। हजारौँ नागरिकताविहीनहरुले नागरिक पाउने अवस्था बनेको छ। यसलाई तपाईँहरूले महत्त्वपूर्ण उपलब्धिको रूपमा लिनुभएको छ भन्ने मैले बुझेको छु’ उहाँले भन्नुभयो ।

प्रतिपक्षमा रहँदा पनि जनताका एजेन्डालाई निरन्तर अघि बढाउने उहाँले प्रतिबद्धता जनाउनुभयो। जनताका दैनिकदिनका समस्यादेखि संविधानको रक्षा र कार्यान्वयनसम्मका एजेन्डामा पार्टी जनतासँगै एकाकार भएर अघि बढ्ने प्रचण्डको भनाई छ । पार्टी भित्रको आन्तरिक एकता सुदृढ गरेर अगाडि बढे मधेस र पूरै देशमा माओवादीलाई कसैले हल्लाउन नसक्ने भन्दै प्रचण्डले स्थानीय पार्टी कमिटीहरूलाई आवश्यक योजना बनाएर अघि बढ्न निर्देशन दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू