अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५६ | Colorodo: 13:11

जर्मनीको जंगलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थानमा सारियो

बिआरटीनेपाल २०८१ भदौ २२ गते ६:२५ मा प्रकाशित

मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका निम्ति अग्निनियन्त्रक र विमानले प्रयास तीव्र पारेका छन् । हर्ज पर्वतमा शुक्रबारदेखि धेरैतिरबाट डढेलो सुरु भएको र साँझसम्ममा यसले भीषण रूप लिएको थियो । स्याक्सोनी–अनहाल्ट राज्यको हर्ज जिल्लाका अधिकारीहरूका अनुसार, ब्रोकेन पर्वतमा करिब १५० अग्निनियन्त्रक, विमान र हेलिकोप्टरहरू तैनाथ गरिएको छ । वरपरको क्षेत्र बन्द गरिएको छ ।

शनिबार पनि आगोको प्रकोप जारी रहेको र अग्निनियन्त्रकलाई सहयोग गर्न विमान र हेलिकोप्टर पुनः पठाइएको जर्मन अधिकारीले बताएका छन् । थप तीन विमान र अर्को हेलिकोप्टर पनि उक्त प्रयासमा सामेल हुने अपेक्षा गरिएको छ । अधिकारीले भनेका छन् , “थप विमानका निम्ति अनुरोध गरिएको छ । अग्निनियन्त्रकले अझै पनि आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् ।”

पदयात्री र पर्यटकलाई उक्त क्षेत्र छोड्न आग्रह गरिएको छ । शुक्रबार दिउँसो बसमार्फत ५०० जनालाई सुरक्षित स्थानमा ल्याइएको स्थानीय प्रसारक एनडीआरले जनाएको छ । सन् २०२२ सेप्टेम्बरमा हर्ज पर्वतको जंगलमा भीषण आगलागी भएको थियो । आगो नियन्त्रणमा लिन अधिकारीहरूले आपत्कालीन अवस्थाको घोषणा गरी सयौँ अग्निनियन्त्रकले केही दिनसम्म दिनरात काम गरेका थिए ।

अरू देशजस्तै जर्मनीले पनि हालैका वर्षहरूमा गर्मीयाममा उच्च तापक्रम अनुभव गरिरहेको छ । वैज्ञानिकले मानव–प्रेरित जलवायु परिवर्तनले तीव्र बनाएको बताएको तापक्रम वृद्धिले यो वर्ष पनि संसारभर मौसमी संकट निम्त्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू