अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५८ | Colorodo: 13:13

विश्व व्यवस्थामाथि खतरा बढेको बेलायत र अमेरिकाका गुप्तचर प्रमुखको चेतावनी

बिआरटीनेपाल २०८१ भदौ २२ गते ५:३३ मा प्रकाशित

अमेरिकी गुप्तचर निकाय (सीआईए)का निर्देशक बिल बर्न्स र बेलायतको एमआई–सिक्सका प्रमुख रिचार्ड मुरले विश्व व्यवस्था शीतयुद्धपछि विश्वले नदेखेको खतरामा रहेको चेतावनी दिनुभएको छ । फाइनान्सियल टाइम्सको विचार पृष्ठमा लेखेको लेखमा दुई गुप्तचर प्रमुखले भनेका छन्, “हामीसँग एकार्काभन्दा बढी विश्वसनीय वा सम्मानित सहयोगी कोही छैन ।” उनीहरूले मुख्यतया रुस, चीन र मध्यपूर्वबाट अभूतपूर्व खतराको सामना गरिरहेको उल्लेख गरेका छन् । आफूहरूको साझेदारी महत्त्वपूर्ण हुने उनीहरूले बताएका छन् ।

संयुक्त राज्य अमेरिका र बेलायत २०२२ फेब्रुअरीमा थालिएको रुसी आक्रमणको प्रतिरोधमा युक्रेनको प्रमुख वित्तीय र सैन्य समर्थकमध्ये दुई प्रमुख राष्ट्र हुन् । “सहकार्य रहनु पहिलेभन्दा बढी महत्त्वपूर्ण छ,” लेखमा भनिएको छ, “रुसी गुप्तचर निकायले युरोपभरि चलाएको विध्वंसको लापरबाहीपूर्ण अभियानलाई बिथोल्न हामी मिलेर काम गरिरहेका छौँ ।”

उनीहरूले अमेरिका र बेलायतले उन्नत एआई र क्लाउड प्रविधिको प्रयोग हाल कसरी गरिरहेका छन् भन्ने विषय पनि लेखमा उल्लेख गरेका छन् । पश्चिमा मुलुक र खासगरी अमेरिका र बेलायतले ती प्रविधिले संकलन गरेका तथ्यांकको विशाल भण्डार प्रयोग गरिरहेका लेखमा महत्त्वका साथ उल्लेख छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले बेलायती प्रधानमन्त्री केइर स्टार्मरलाई सेप्टेम्बर १३ मा वासिङटनमा स्वागत गर्ने कार्यक्रम तय भएकोे वा स्टार्मरको भ्रमणको घोषणा भएको समयमा उक्त चेतावनी आएको हो । अमेरिकी राष्ट्रपति बाइडेनले बेलायती प्रधानमन्त्री स्टार्मरलाई स्वागत गर्ने कार्यक्रम केही दिनअघि तय भएको थियो ।

ह्वाइट हाउसले शुक्रबार भनेको छ, “उनीहरू (बाइडेन र स्टर्ममर)ले अरू कुराका साथै युक्रेनलाई निरन्तर मजबुत बनाइराख्ने र गाजामा युद्धविराम हासिल गर्ने नयाँ उपायबारे छलफल गर्नेछन् ।” इजरायलप्रति दुई राष्ट्रको अडान फरक–फरक रहेको समयमा यो बैठक हुन लागेको हो । युद्धग्रस्त गाजामा अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरी आफूले उपलब्ध गराएका हतियार प्रयोग हुन सक्ने भन्दै बेलायतले इजरायललाई ३० हातहतियार निर्यात अनुमतिपत्र स्थगन गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू