अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०४ | Colorodo: 13:19

लोसपाको केन्द्रीय कार्यसमिति केन्द्रीय महाधिवेशन तयारी समितिमा परिणत

बिआरटीनेपाल २०८१ भदौ २२ गते ५:३० मा प्रकाशित

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले मौजुदा केन्द्रीय कार्यसमितिलाई केन्द्रीय महाधिवेशन तयारी मूल समितिमा परिणत गरेको छ । यही भदौ १९ र २० गते काठमाडौंमा पार्टी अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको केन्द्रीय पदाधिकारी बैठकले आगामी वैशाख २६ गते केन्द्रीय महाधिवेशन आयोजना र त्यसका लागि कात्तिक मसान्तभित्र सदस्यता अभियान सम्पन्न गर्ने निर्णय गरेको हो ।

बैठकले संविधान संशोधनका लागि विगतमा उठाइएका मधेशका सबै मुद्दाको सङ्कलन गर्दै मधेशी, थारू र अन्य उत्पीडित जनताका अधिकार कायम गराउन सबै दलसँग सहकार्यका लागि अपिल गर्ने निर्णय गरेको अध्यक्ष ठाकुरले जानकारी दिनुभयो । लोसपाले संविधान संशोधनको एजेन्डा तय गर्न वरिष्ठ नेता लक्ष्मणलाल कर्णको संयोजकत्वमा दानबहादुर विश्वकर्मा र परमेश्वर साह सदस्य रहने गरी तीन सदस्यीय कार्यदल बनाएको छ ।

बैठकले बृहत राजनीतिक शाक्ति अभियान निर्माणमा सहकार्य गरेका सबै व्यक्ति र शाक्तिलाई पार्टीमा गोलबन्द हुन आह्वानसमेत गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को परिणाम खस्किँदै गइरहेकोमा चिन्ता व्यक्त गर्दै लोसपाले विषयगत शिक्षकको अभाव र समय सापेक्ष पाठ्यक्रम नभएका कारण नतिजा खस्केको निष्कर्ष निकालेको छ । पार्टीले विषयगत शिक्षकको नियुक्ति तथा समय सापेक्ष सीपमूलक पाठ्यक्रमको निर्माण गर्न सरकारसँग माग गरेको छ ।

मधेश प्रदेशलगायत अन्य जिल्लामा बालिनाली सुक्खाग्रस्त भएकाले किसानलाई अल्पकालीन र दीर्घकालीन व्यवस्थापन गर्न सरकारसँग माग गर्ने निर्णय गरिएको अध्यक्ष ठाकुरले जानकारी दिनुभयो । लोसपाले ऊखु किसानले हालसम्म नेपाल सरकारबाट पाउनुपर्ने अनुदान प्राप्त गर्न नसकेकाले तत्काल अनुदान निकासको लागि माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू