अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:११ | Colorodo: 13:26

मनसुन अवधि एक महिना बाँकी छँदै औसतको झन्डै ९० प्रतिशत पानी पर्‍याे

बिआरटीनेपाल २०८१ भदौ २२ गते ५:०४ मा प्रकाशित

मनसुन अवधि एक महिना बाँकी हुँदा नै औसतको झन्डै ९० प्रतिशत वर्षा भएको छ । नेपालमा झन्डै चार महिना रहने मनसुन अवधिको औसत वर्षा एक हजार चार सय ७९ दशमलव ७ मिलिमिटर हो । तर सेप्टेम्बर १ सम्मको विवरण अनुसार मनसुन शुरु भएपछि एक हजार तीन सय २३ दशमलव आठ मिलिमिटर वर्षा भइसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यस वर्ष नेपालमा जुन १० मा मनसुन भित्रिएको थियो । सामान्य गतिमा भित्रने र बाहिरिने अवस्थामा मनसुनी अवधि एक सय १२ दिनको हुन्छ । नेपालबाट मनसुन बाहिरिने औसत दिन अक्टोबर २ तारिख हो । सरदर मिति अक्टोबर २ तारिख भए पनि नेपालमा पछिल्ला पाँच वर्षको मनसुन बाहिरिने मिति छिटोमा अक्टोबर ११ भएको देखिएको छ ।

मनसुन अवधि एक महिना बाँकी नै रहेकोले यसअघि नै अनुमान् गरेअनुसार यस वर्ष औसतभन्दा धेरै वर्षा हुने सम्भावना बलियो रहेको विभागकी बरिष्ठ मौसमविद् विभूती पोख्रेलले बताउनुभयो । अबका केही दिन बदली र सामान्यदेखि मध्ययम खालको वर्षाको सम्भावना रहे पनि लामो झरी पार्ने खालको प्रणाली नरहेको विभागले जनाएको छ । यस वर्ष मनसुनको अवधिमा बाढी, पहिरो, चट्याङ लगायत मनसुनजन्य विपदबाट दुई सय ५० जनाभन्दा धेरैको ज्यान गइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू