अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२७ | Colorodo: 03:42

गृहले अर्थ मन्त्रालयमा पठायो सशस्त्र प्रहरी सम्बन्धी विधेयक

बिआरटीनेपाल २०८१ भदौ २१ गते ६:३० मा प्रकाशित

गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपाल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई राय–परामर्शका लागि अर्थ मन्त्रालय पठाएको छ। सशस्त्र प्रहरी बल नेपालको विधेयकमाथि सरोकारवालासँग छलफल गरेर गृह मन्त्रालयले राय–परामर्शका लागि शुक्रबार अर्थ मन्त्रालयको पठाएको गृह मन्त्रालयको कानुन महाशाखा प्रमुख सह–सचिव भरतमणि रिजालले जानकारी दिनुभयो।

सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हलचोकमा सोमबार विधेयकको मस्यौदामाथिको छलफलका क्रममा गृहमन्त्री रमेश लेखकले भदौ २१ गते विधेयकलाई अर्थ मन्त्रालयमा पठाउने बताउनुभएको थियो । ‘सरकार बनेको सय दिनमा यो विधेयकलाई क्याबिनेटमा पुर्‍याउने भन्ने हो। तर मेरो लक्ष्य संसदमै पुर्‍याउने हो,’ उहाँको भनाइ थियो। अर्थ मन्त्रालयबाट राय–परामर्श आइसकेपछि विधेयकलाई गृह मन्त्रालयले कानुन मन्त्रालय पठाउने छ। कानुनबाट विधेयक गृहमा आएपछि मन्त्रिपरिषदमा पठाइने सहसचिव रिजालले बताउनुभयो।

‘मन्त्रिपरिषदमा पठाइसकेपछि हामी लोकसेवा आयोगको परामर्श लिन्छौं। त्यसपछि विधेयक मन्त्रिपरिषद हुँदै संसदमा जान्छ,’ उहाँले भन्नुभयो । नेपाल प्रहरी ऐन, सशस्त्र प्रहरी बल नेपालको ऐन र निर्वाचन ऐन सय दिनभित्र संसद पुर्या‍उन काम भइरहेको सहसचिव रिजालले बताउनुभयो। विधेयकमा सशस्त्र प्रहरी बल नेपालले गर्ने काम सीमा सुरक्षा नै हो भनेर विशिष्टिकृत गरिएको छ। सीमामा हुने अपराध नियन्त्रण, सीमाको सुरक्षा, विपद्मा उद्धार, दंगा नियन्त्रण, सशस्त्र विद्रोह र आतंकवादी गतिविधिविरूद्ध काम गर्ने कुराको विशिष्टिकृत भएको उहाँको भनाइ छ ।

सह(सचिव रिजालका अनुसार विल्लादार जवान, आधारभूत तहका प्रहरीलाई १६ वर्ष र जुनियर अधिकृतलाई १८ वर्षको पेन्सन अवधि कायम गर्ने, विभिन्न दर्जाको पूर्वानुमान योग्य, बढुवा र सरुवाको व्यवस्था ऐनमा नै गर्न लागिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू