अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०६ | Colorodo: 13:21

पशुपतिलगायतका शिव मन्दिरहरूमा बिहानैदेखि चहलपहल

बिआरटीनेपाल २०८१ भदौ २० गते २२:२५ मा प्रकाशित

हरितालिका तीज पर्वको अवसरमा आज पशुपतिनाथलगायतका देशभरका शिव मन्दिरहरूमा बिहानैदेखि चहलपहल रहेको छ । पशुपतिमा दर्शनार्थीहरूका लागि पशुपति क्षेत्र विकास कोषले चार वटा ठाउँबाट लाइनको व्यवस्था गरेको छ । कोषका अनुसार दर्शनका लागि गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तर ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूल ढोकाबाट बाहिर निस्किएर कैलाश दक्षिण जुत्ता–चप्पल कक्षबाट फर्कने व्यवस्था मिलाइएको छ ।

यस्तै मित्रपार्क–जयबागेश्वरी–गौशाला–भुवनेश्वरी–शङ्कराचार्य मठ दक्षिण हुँदै फलामेपुल–पश्चिम सानो ढाकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोका हुँदै बाहिरिने र शङ्कराचार्य मठ दक्षिण जुत्ता–चप्पल कक्षबाट फर्कने व्यवस्था मिलाइएको छ ।यस्तै पिङ्गलास्थानबाट वनकाली–चार शिवालय–पञ्चदेवल पूर्व–बज्रघर–दक्षिण ढोकासम्मको लाइनलाई ६४ सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी दक्षिण ढोका हुँदै बाहिरिने र पञ्चदेवल पूर्व दक्षिण निर्माण गरिएको जुत्ता–चप्पल कक्षबाट फर्कने व्यवस्था मिलाइएको छ ।

यस्तै तिलगङ्गा–राम मन्दिर हुँदै बाग्मती नदी पूर्व किनार हुँदै आर्यघाट नजिकको पुल तरेर पशुपतिनाथ मन्दिरको पूर्व ढोकाबाट प्रवेश गरी पूर्व ढोकाबाटै बाहिरिने व्यवस्था मिलाइएको छ । कोषले तिलगङ्गा आँखा अस्पतालतर्फको खुला क्षेत्र, सिफल चौरको खाली ठाउँ र गुह्येश्वरी पारिको खाली ठाउँमा दर्शनार्थीहरूको गाडी पार्किङ गर्ने व्यवस्था मिलाएको छ । धेरै भीड हुने भएकाले सकभर गरगहना नलगाउन र साना बालबच्चा नलिइकन पशुपति आउन पनि कोषले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू