अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५३ | Colorodo: 13:08

जीबी राई खोज्दै मलेसिया पुगेको प्रहरी टोली फर्कियो

बिआरटीनेपाल २०८१ भदौ २० गते ७:५६ मा प्रकाशित

सहकारी ठगी प्रकरणमा फरार रहेका गितेन्द्रबाबु (जीबी) राईको खोजी गर्दै मलेसिया पुगेको नेपाल प्रहरीको टोली फर्किएको छ । एक साताअघि मलेसिया गएका एक जना प्रहरी उपरीक्षक (एसपी) र एक जना प्रहरी नायब निरीक्षक (सई) बुधबार काठमाडौं फर्किएका प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ ।

पोखराको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मीलगायत विभिन्न सहकारीमा सर्वसाधारणले गरेको वचत हिनामिना गरेको आरोपमा मुद्दा परेपछि फरार रहेका जीबी राई मलेसियामा रहेको थाहा पाएपछि परराष्ट्र मन्त्रालयमार्फत समन्वय गरेर प्रहरीले टोली पठाएको थियो । उक्त टोलीले मलेसियामा जीबी राईलाई भेटेको वा नभेटेको बारेमा प्रहरीले केही खुलाएको छैन । ‘टोली मलेसिया गएर फर्केको हो, अनुसन्धानकै विषय भएकाले जीबीबारे के भयो भन्ने खुलाउन मिल्दैन’, प्रहरी उच्च स्रोतले भनेको छ ।

स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयको पत्रपछि गृहमन्त्री रमेश लेखकको पहलमा परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर प्रहरी टोली मलेसिया पठाइएको थियो । पटक–पटक प्रयास गर्दा पनि मलेसिया सरकारले जीबीलाई नेपाल फिर्ता गर्न नमानेपछि प्रहरी टोली मलेसिया गएको हो । यसअघि जीबीलाई कूटनीतिक पहल गरी नेपाल ल्याउने प्रहरीको प्रयास असफल भएको थियो । गृह र परराष्ट्र मन्त्रालयको समन्वयमा २०८० फागुन दोस्रो साता कूटनीतिक पत्राचार गर्दै जीबीलाई नेपाल ल्याउन आग्रह गरिएको थियो ।

यहीबीचमा नेपाल प्रहरीले प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोललाई जीबी राईसँग सम्बन्धित थप कागजात पठाएको छ । जीबीलाई रेड नोटिस जारी गर्न यसअघि अदालती कागजातहरु, पक्राउ पूर्जी, अभियोजको पत्रलगायत कागजातहरु पठाइएको थियो । इन्टरपोलले जीबीबाट पीडितहरुको बयान कागज र साक्षीको बयान कागज माग गरेपछि ती कागजात अनुवाद गरेर पठाएको प्रहरी प्रधान कार्यालय स्रोतको भनाइ छ । ‘इन्टरपोलले थप कागजता मगाएपछि हामीले एक साताअघि पीडित र साक्षीका कागजात अनुवाद गरेर पठाएका छौं’, प्रहरी स्रोतले भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू