अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:११ | Colorodo: 07:26

काँग्रेस र कम्युनिष्ट शासनले भ्रष्टाचारलाई बढावा दियो : अध्यक्ष यादव

बिआरटीनेपाल २०८१ भदौ १७ गते ४:३४ मा प्रकाशित

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा बेरोजगारी बढ्नुमा नेपाली काँग्रेस र कम्युनिष्ट पार्टीहरुको हात रहेको आरोप लगाउनुभएको छ ।वीरगञ्जमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यस्तो आरोप लगाउनुभएको हो । उहाँले गरिबी र बेरोजगारीको दर बढ्नुको जिम्मेवारी काँग्रेस र कम्युनिष्टले लिनुपर्ने बताउनुभयो ।

अध्यक्ष यादवले पढेलेखेका युवालाई देशमा कुनै रोजगारीको लागि स्थान नहुने अवस्था सरकारको नेतृत्वमा बस्ने दलहरुकै कारण भएको बताउनुभयो । उहाँले युवाहरु मलेसिया, कतार, अरब जस्ता मुलुकमा रोजगारीको लागि गइरहेको तर देशमा अझै रोजगारी वृद्धिमा चासो नदिइएको बताउनुभयो । उहाँले मधेश आन्दोलनको परिणामले नै नेपाल संघीय गणतन्त्र भएको दाबी गर्नुभयो ।

अध्यक्ष यादवले भन्नुभयो, ‘मलेसिया, कतार, अरब जस्ता मुलुकमा प्रत्येक दिन १० हजार युवाहरु बाहिर गइरहेका छन्, कामको खोजीमा । ८ देखि १० वटा शव बाहिरबाट आइरहेका छन् । केही समय पहिला मात्रै दुई तीन हजार मानिस मात्रै बाहिर थिए भने आज ७५ लाख मानिस कामको खोजीमा बाहिरिएका छन् । गाउँमा युवाहरु भेटिँदैनन् । यस्तो नाजुक स्थिति छ । यो स्थिति बनाउने को हो ? को जिम्मेवार छ ? देशमा शासन, सत्ताको नेतृत्व गर्नेहरु नै हुन् । सरकार चलाउने, देशको अर्थतन्त्र चलाउनेहरु नै हुन् । नेपाली काँग्रेस र कम्युनिष्टहरु नै यसका जिम्मेवार हुन् ।’

अध्यक्ष यादवले काँग्रेस र कम्युनिष्टका धेरै नेताहरु भ्रष्टाचारमा जोडिएको आरोप लगाउनुभयो । उहाँले काँग्रेस र कम्युनिष्ट शासनले भ्रष्टचारलाई बढावा दिएको बताउनुभयो । भ्रष्टाचार नै काँग्रेस र कम्युनिष्टहरुको राजनीतिक तन्त्र भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू