अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५९ | Colorodo: 22:14

जनार्दनबारे स्पष्ट गर्न माओवादीद्धारा पुनः ‘बोल्ड सर्कुलर जारी

बिआरटीनेपाल २०८१ भदौ १६ गते ७:१८ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र) ले पार्टीका उपमहासचिव जनार्दन शर्माबारे स्पष्ट गर्न भन्दै फेरि सर्कुलर जारी गरेको छ।गत साउन २५ देखि ३१ गतेसम्म बसेको स्थायी कमिटी बैठकबारे जानकारी गराउन भदौ २ गते माओवादीले सर्कुलर जारी गरेको थियो। उक्त सर्कुलरमा उपमहासचिव शर्माले पार्टीमा प्रस्तुत गरेको प्रस्तावका बारेमा उल्लेख थिएन। दुई सातापछि आइतबार फेरि सर्कुलर जारी गर्दै माओवादीले पार्टी विभाजनको हल्ला निराधार भएको उल्लेख गरेको छ।

‘उपरोक्त सम्बन्धमा मिति २०८१ भदौ २ गते केन्द्रीय कार्यालयबाट जारी गरिएको परिपत्रमा बोल्ड गरिएका विषयहरू थप गरी पुनः परिपत्र गरिएको जानकारी गराइन्छ,’ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  र महासचिव देव गुरूङले हस्ताक्षर गरेको परिपत्रमा उल्लेख गरिएको छ। बोल्ड गरिएको बुँदामा भने उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउन नलागेको विषय थप गरिएको हो।

‘पछिल्लो समयमा कतिपय सन्दर्भमा हाम्रो पार्टी विभाजन हुँदै छ भनि जसरी चर्चा परिचर्चा चलिरहेको र त्यसमा पनि उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले पार्टी फुटाउँदै छ भन्ने प्रचारमा कुनै सत्यता नरहेको विषय स्पष्ट पार्नुभयो। साथै हाम्रो पार्टी एकताबद्ध रहेको र रहिरहने विश्वास व्यक्त गर्दै वैठकको समापन गर्नुभयो,’ माओवादीले पुनः पठाएको सर्कुलरमा बोल्ड गरेर यो वाक्य थपिएको छ।गत स्थायी कमिटी बैठकमा उपमहासचिव शर्माले पुरक प्रस्ताव पेस गरेका थिए। शर्माले स्थायी समिति बैठकमा १४ पृष्ठ लामो सुझाव प्रस्तुत गर्दै अध्यक्ष प्रचण्डलाई नेतृत्व छाड्न सुझाव दिनुभएको थियो। त्यसका लागि उहाँले तीन वटा विकल्प प्रस्तुत गर्नुभएको थियो ।

शान्ति प्रक्रियायता पटक(पटक सरकारको नेतृत्व गरे पनि र सरकारका सहभागी भए पनि उपलब्धीहरू संस्थागत गर्न भने नेतृत्व चुकेको शर्माले बताउनुभएको छ । नेतृत्व चुक्नुका पछाडि शर्माले १० बुँदामा त्यसको व्याख्या समेत गर्नुभएको थियो । नेतृत्व चुकेकै कारणले बलिदान, पार्टी र नेतृत्वले खेलेको ऐतिहासिक भूमिका र जनताको योगदानबाट प्राप्त उपलब्धिहरू आखिर केका लागि भन्ने प्रश्न उठ्न पुगेको शर्माको निष्कर्ष थियो। त्यसयताका प्रत्येक छलफलमा माओवादीका अध्यक्ष प्रचण्डले आफूले अहिले नै नेतृत्व नछोड्ने बताउँदै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू