अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४९ | Colorodo: 18:04

चार दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध हुँदा करोडौँ रुपैयाँको स्याउ अलपत्र

बिआरटीनेपाल २०८१ भदौ १५ गते ७:०८ मा प्रकाशित

चार दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध हुँदा करोडौँ रुपैयाँको स्याउ अलपत्र परेको छ । कालीकोटको गगनेखोला, एसमोड, दैलेखको मालाचौर, दहीखोलामा आएको पहिरोले सडक अवरुद्ध भएको हो । हुम्ला, मुगुबाट सुर्खेत नेपालगञ्ज स्याउ बोकेर हिँडेका ६३ वटा ट्रक र  यात्रु बस कालीकोट र दैलेख खण्डको सडकमा अलपत्र अवस्थामा छन् । कालीकोट शुभकालिकाका गाउँपालिका–१ गगनेखोला सडकको पहिरो हटाउन जुम्ला सडक डिभिजन कार्यालयसँग आवश्यक समन्वय गरी काममा तीव्रता दिइएको जिल्ला प्रशासन कार्यालय कालीकोटमा प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी नेपालीले पहिरोले एसमोड, कालीकोट र दैलेखको सीमामा रहेको दहीखोलाको मोटरेबल पुलमा पनि क्षति पुगेको बताउनुभयो । गएको बुधवार बेलुका गएको पहिरोबाट अवरुद्ध कालीकोट सडक खण्ड बेलुकासम्म खुलाउने पहल भइरहेको छ । दैलेखमा पनि पहिरो पन्छाउने प्रयास भइरहेको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले सडक खुलाउन तीन दिनदेखि राकममा बसेर स्रोत परिचालन गरिँदै आएको बताउनुभयो ।

मालाचौरमा गएको पहिरो पन्छ्याएपनि किटु खोलामा सडक भाँसिएकाले तलबाट पर्खाल लगाउने काम भइरहेको छ । पहिरो पन्छ्याउने कामलाई तीब्र गतिमा बढाउन सुर्खेत र नेपालगञ्जबाट बुलडोजर मगाएको प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार सडकको पहिरो पन्छ्याएर नियमित आवतजावत हुन अझै दुई दिन लाग्नेछ । यात्रुलाई पहिरो गएको ठाउँबाट अर्को ठाउँसम्म पु¥याउन प्रहरीले सहयोग गरे पनि स्याउ बोकेका गाडी भने सडकमै थन्किएका छन् । समयमै नेपालगञ्ज र सुर्खेत गाडी पुर्‍याउन नसके करोडौँ रुपैयाँको क्षति हुने चन्दननाथ नगरपालिका–९ जुम्लाका स्याउ व्यापारी रामबहादुर खत्रीले दुखेसो पोख्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय