अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१४ | Colorodo: 02:29

पाँचथरमा सशस्त्र द्वन्द्वकालकै बम विस्फोट भएकाे हाे : गृहमन्त्री लेखक

बिआरटीनेपाल २०८१ भदौ १४ गते ७:२१ मा प्रकाशित

पाँचथरमा हिजो दुई जना बालबालिकाको ज्यान जाने गरी भएको विस्फोट सशस्त्र द्वन्द्वकालको बमका कारण भएको पाइएको गृहमन्त्री रमेश लेखकले बताउनुभएको छ ।गृह मन्त्रालयमा आज पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकले माओवादी कार्यकर्ता आइतराज केरुङको घर नजिकै अर्को पनि बम भेटिएको र त्यो बम पुरानो भएकाले द्वन्द्वकालीन नै भएको बताउनुभएको हो ।

‘पाँचथरमा विस्फोट भएको बम द्वन्द्वकालीन नै भएको प्रहरीको ब्रिफिङ छ ।यो पुरानो ग्रिनेड नै हो, सशस्त्र द्वन्द्वका बेलाकै ग्रिनेड पड्केर दुःखद घटना भएको देखियो’, उहाँले भन्नुभयाे ।विस्फोटमा आइतराज केरुङको घरमा बस्दै आएका ज्ञानबहादुर राईका १० वर्षीय छोरा घाइते भएका थिए भने दिलीप साँवाका ११ वर्षीय छोरा र अढाई वर्षीया छोरीको अस्पताल लैजाने क्रममा निधन भएको थियो । घाइते बालकका अनुसार आइतराज केरुङको घर नजिकैको अम्रिसो घारीमा भेटिएको वस्तु फुटाउन खोज्दा विस्फोट भएको हो ।

घटनाको सूचना पाएपछि नेपाली सेनाले विस्फोटक पदार्थ निष्क्रिय पार्न एउटा विशेष टोली फालेलुङ गाउँपालिकामा रहेको डाँडागाउँमा पठाएको थियो । सेनाको टोलीले अम्रिसो घारीमा खोजी गर्दा अर्को पनि विस्फोटक वस्तु भेटेर निष्क्रिय पारेको बताएको छ । १० वर्षे माओवादी सशस्त्र द्वन्द्वको अन्त्य भएको पाँच वर्षपछि २०६८ सालमा नेपाललाई ल्यान्डमाइनमुक्त घोषणा गरिएको थियो । तर त्यसपछि पनि द्वन्द्वकालमा राखिएका विस्फोटक पदार्थहरू फेला पर्ने र विस्फोटनसमेत हुने घटना भइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू