अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२० | Colorodo: 01:35

‘विशृङ्खलित सपना’ भित्रका कथाहरूको चामत्कारिक पक्ष

ठाकुर शर्मा भण्डारी २०८१ भदौ ११ गते २१:०० मा प्रकाशित

विक्रम संवत् २०२० सालमा नेपालको काभ्रेपलान्चोक जिल्लामा जन्मिएका गोपी मैनाली शिक्षाक्षेत्रमा विकास प्रशासन, अर्थशास्त्र र वित्तव्यवस्थापन विषयमा स्नातकोत्तर गरेका व्यक्तित्व हुन् । निजामती सेवा विशिष्ट तहसम्म रही देशसेवामा निरन्तर लागेका मैनालीले नेपाली साहित्यको क्षेत्रको निबन्ध र समालोचना विधामा चर्चित व्यक्तित्व हुन् र कथाविधामा पनि अग्रसर रहेका छन् ।

गोपी मैनालीका आजसम्म प्रकाशित कृति हुन् : अवसाद अभिनयी (निबन्धसङ्ग्रह २०४०), आँखाभरि रमिता मनभरि वेदना (नियात्रासङ्ग्रह २०६३), युगकवि सिद्धिचरण कृति र प्रवृत्ति विश्लेषण (२०६८), अपेक्षा र अनुभूति (निबन्धसङ्ग्रह २०७४), घाउ आफैँलाई दुख्छ (निबन्धसङ्ग्रह २०७८), अभिव्यञ्जना यात्राप्रति (समालोचनासङ्ग्रह २०७९), रमेश विकल: समालोचनात्मक अन्वेषण (समालोचनासङ्ग्रह २०८०) र विशृङ्खलित सपना (कथासङ्ग्रह २०८१) ।

सुरभि साहित्य प्रतिष्ठान काठमाडौँबाट प्रकाशित ‘विशृङ्खलित सपना’ (कथासङ्ग्रह) भूमिकालेखनको सन्दर्भमा ‘पृथक् अभिव्यक्तिका कथाहरू’ शीर्षकमा चर्चा गर्दै नेपाली साहित्यको क्षेत्रमा प्रसिद्धि प्राप्त व्यक्तित्व विजय चालिसेको दृष्टिकोण छ: “समकालीन नेपाली कथाजगत्मा गोपी मैनालीका यी कथाले कतिपय नछोइएका सन्दर्भ, विषय, परिवेश र भोगाइहरूलाई सफलतापूर्वक समेटेका छन् । यो यस सङ्ग्रहको सर्वाधिक सबल र प्रभावकारी पक्ष हो । सरलभाषामा गहन समवेदनालाई संवहन गर्न सक्नु कथाकारको अर्को विशेषता ठानेको छु ।”

प्रकाशकीय लेख्ने क्रममा ‘विशृङ्खलित सपना शृङ्खलित विपनाको आरोहमा’ शीर्षक दिएर सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको भनाइ छ: “विनाशभित्र निर्माण, ध्वंसभित्र सिर्जना, हिंसाभित्र प्रेम र द्वन्द्वभित्र शान्ति र सुखद क्षणको आह्वान गरिरहेका कथाका चरित्रका आन्तरिक रोदनमा पाइने मर्म र सोको प्रतिविम्बन उतार्न सफल मैनालीका कथाशिल्पले उच्च शिखर चढिसकेका छन् ।”

“समवेदना भएका सबै हामी कथा हौँ” भन्ने गोपी मैनालीको यो पहिलो प्रकाशित कथासङ्ग्रह हो । उल्लिखित दुई वरिष्ठ साहित्यकार जसले कथा–उपन्यासको क्षेत्रमा महत्त्वपूर्ण योगदान दिन सफल व्यक्तित्वको भनाइले नै गोपी मैनालीका कथाहरूको उचित मूल्याङ्कन भएको छ र स्वयं कथाकार गोपीजी समालोचना क्षेत्रका चर्चित व्यक्तित्व भएको कारण भनौँ वा पूर्वीय एवं विशेषतः पाश्चात्य साहित्यलाई राम्रोसँग अध्ययन गरेका व्यक्तित्व भएकोले पनि यी कथाहरू माझिएका र फरक दृष्टिकोण भएका छन् भन्ने स्पष्ट हुन्छ ।

कथाकार गोपी मैनाली बहुमुखी प्रतिभा हुन् । रमेश विकलको विषयमा पूर्णतः अध्ययन गरी उनका कथा, उपन्यास, नाटक, निबन्ध, बालकथा आदिको विश्लेषणात्मक एवं अनुसन्धानात्मक कृति सुरभि साहित्य प्रतिष्ठानले प्रकाशित गरेको थियो । त्यसको प्रभाव एउटा स्रष्टा वा साहित्यिक संस्थामा पर्नु स्वाभाविक थियो । केही समयमा नै उनकै कथाकृति ‘विशृङ्खलित सपना’ (कथासङ्ग्रह) प्रकाशित ग¥यो । निबन्धको क्षेत्र गोपी मैनालीको अत्यन्त प्रभावशाली थियो । त्यसपछि समालोचनामा त्यस्तै प्रभावशाली तुलनात्मक समालोचना आयो भने अहिले कथालेखनमा पनि उत्तिकै प्रभावशाली कथाहरू आएका छन्, यो स्रष्टाको अध्ययनको कसी हो जस्तो लाग्छ ।

‘विशृङ्खलित सपना’ (कथासङ्ग्रह) विषयमा सङ्क्षिप्त तर समीक्षात्मक चर्चा गर्ने प्रयास यस लेखनमा गरिएको छ । यस सङ्ग्रहभित्र सत्रवटा शीर्षकमा आबद्ध गरिएका सुन्दर एवं परिष्कृत कथाहरू रहेका छन् । ‘आमासँग कुरा गर्ने धोको’बाट प्रारम्भ भएका कथाहरूदेखि ‘उसको पनि दशैँ होला !’ शीर्षकसम्म पुग्दा कुनै एक शब्दात्मक, कुनै वाक्यांशात्मक र वाक्यात्मक रूपमा समाविष्ट गरिएका कथाशीर्षक छन् । यथार्थमा आधारित बनाएर समसामयिक विषयवस्तु, सामाजिक र राजनीतिक विषयसन्दर्भहरूलाई बढी मात्रामा कथात्मक आलेखन गरिएको छ भने विसङ्गति/विकृतिलाई सूक्ष्मव्यङ्ग्यात्मकका साथ देखाउने प्रयास पनि गरिएको छ । कतिपय कथाहरू यात्रात्मकताको पुट पनि पाइन्छ, जसलाई हामी यात्रावृत्तान्त पनि भन्न सकिन्छ । जीवनका आन्तरिक र बाह्य भावनाहरूलाई उध्रिन्छन् – कथाहरूले । प्रत्येक पलपलमा घट्ने घटनालाई टिप्ने क्षमता कथाकारमा देखिन्छ, जसरी पहिले लेखिएका निबन्धमा पाइन्छ । कतिपय वाक्यहरू कवितात्मक स्वरूपका रहेका छन् । लेखनशैली सुमधुर छ, कथाको दृष्टिकोणमा नवीनता पाइन्छ । कथाहरूको विषयवस्तु आप्mनै सेरोफेरोमा मात्र सीमित छैन, सर्वदेशीय छ, व्यापकताको धरातललाई प्रतिविम्बित गर्छ । जीवनको गहिराइसम्म छुने प्रयास गरेका कथाहरूले जीवनका घटितघटनालाई प्रस्तुति दिएको अनुभूति गराउँछन् ।

यसमा सत्रवटा कथाका शीर्षकमा – आमासँग कुरा गर्ने धोको, पराजित, गुल्नारा, धुल्पुरे त बगाएछ, साथी राम थापा, सधैँ असुरक्षित, विसमको मोटरसाइकल, सबैले माया गर्दा रहेछन्, साथी र सापटी, सरोजको विदेश मोह, मन लरबराएको वेला, गोरे दाइ गए खोला पनि सुक्यो, सुकरामको रेडियोप्रेम, बिन्दास सरिता, जन्मदिन, सङ्गतले भत्काएको सपना, उसको पनि दशैँ होला ।

यो लेखन कुनै समालोचना होइन, ‘थालीपुलक न्यायेन’ गरिएको समीक्षात्मक टिप्पणी वा पाठकीय दृष्टिकोण हो । ‘विशृङ्खलित सपना’मा समाजको विशृङ्खलित अवस्थामा कथाहरूमा त्यस्तै विशृङ्खलित जीवनका आरोहावरोहलाई व्यक्त गरिएको छ । आमाको ममता, नारीजीवनको यथार्थता, कर्मचारीमा देखिने गरेका विसङ्गत भावना, विशेशमा जाँदा देखिएको त्यहाँको संस्कृति, परम्परामा थिचिएको मिचिएको स्थिति र स्वयंले भोग्नुपरेका कथ्यहरूलाई अत्यन्त मार्मिक रूपमा प्रस्तुत गरिएको छ ।

कतिपय कथाहरू समयसापेक्षताको धरातलमा उँभ्याएर सामाजिक विकृत अवस्थालाई देखाइएको छ, कतिपय कथाले मनलाई विथोलिदिन्छन्, के यस्तो पनि हुन सक्छ र ? कथाकार स्वयं उपस्थित भएका कथाहरूले कतै आत्मकथा त होइनन् भन्ने झल्को पनि दिन सक्छन्, तर गोपी मैनालीको लेखनशैली तुलनात्मक र समालोचनात्मक वा निबन्धनात्मक भएकोले त्यसको छिटा कथामा पनि उत्रेको छ । कतै संस्मरणात्मकताको छायाँ देखिए पनि यी कथाहरू सामाजिक यथार्थको धरातलमा उँभिएका छन्, नवीनतम शैलीको अनुभूति अवश्य हुन्छ ।

यसरी ‘विशृङ्खलित सपना’ (कथासङ्ग्रह)भित्रका कथाहरूले मूलतः नेपाल र विदेशी भूमिको समाजको यथार्थस्थितिलाई देखाएका छन् । कथा कथनशैली सुन्दर छ, परिष्कृत भाषा छ, कथाहरू बोधगम्य छन्, स्वस्पूmर्त चिन्तन छ, खोट लगाउन खोज्नुपर्ने हुन्छ तसर्थ गोपी मैनाली एक सफल कथाकारको रूपमा स्थापित गराउने सुन्दर कथाकृति बन्न पुगेको छ ‘विशृङ्खलित सपना’ । अस्तु ।

२०८१ भाद्र १२ गते बुधवार । धुम्बाराही, काठमाडौँ ।