अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५० | Colorodo: 15:05

३४ तोला सुन र साढे १० केजी चाँदीसहित पक्राउ परेका ४ जना सार्वजनिक

बिआरटीनेपाल २०८१ भदौ ११ गते ७:०१ मा प्रकाशित

बाँके प्रहरीले ३४ तोला सुन र साढे १० केजी चाँदीसहित पक्राउ परेका चार जनालाई सार्वजनिक गरेको छ। सोमबार दिउँसो विशेष सुराकीको आधारमा प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका–११ बिपी चोक क्षेत्रबाट चार जनालाई पक्राउ गरेको हो। पक्राउ परेका चारै जनालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा बर्दिया राजपुर नगरपालिका(८ का ४० वर्षीय नेपाली थारु, राजपुर–४ का ४२ वर्षीय निमप्रकाश सुनार, नेपालगञ्ज उपमहानगरपालिका–११ का २१ वर्षीय राहुल सोनार र राप्ती सोनारी गाउँपालिका–४ का २४ वर्षीय ओमजङ्ग चौधरी रहेको जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिनुभयो।

अवैध रूपमा सुनको कारोबार भइरहेको भन्ने सूचना पाएपछि प्रहरीले नेपाली थारुले चलाएको ०३०१–०२४ च ६७६३ नम्बरको कारलाई फेला पारेको थियो। त्यसैक्रममा उनको कारलाई रोकेर जाँच गरेको थियो। कारमा सवार निमप्रकाश सुनारबाट सुरूमा ६७ ग्राम सुन र राहुल सोनारबाट १७२ ग्राम चाँदीका गहना बरामद भएको थियो। उनीहरूमाथि अनुसन्धान गरी प्रहरीले ओमजंगलाई पनि पक्राउ गरेको थियो। ओमजंङ पशुपति सुनचाँदी रिफाइन कारखानामा कार्यरत कालीगढ समेत हुन्। उनलाई पक्राउ गरी कारखाना पुगेर प्रहरीले थप सुन र चाँदी बरामद गरेको हो।

कारखानाबाट ३४० ग्राम तौलको सुन र १० केजी ४४१ ग्राम चाँदी बरामद भएको भएको थियो। कारखाना सञ्चालक भने फरार छन्। जिल्ला प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार उनीहरूबाट कुल ४०७ ग्राम अर्थात ३४ तोला सुन र १० किलो ६१३ ग्राम चाँदी बरामद भएको हो। बरामद सुन र चाँदीको बजार मूल्य झन्डै ७० लाख बराबर हुने प्रहरीले जानकारी दिएको छ। अनुसन्धानमा खटिएका अर्का एक प्रहरी अधिकारीका अनुसार उनीहरूले यसअघि पनि अवैध रूपमा कारोबार गरेको आशंका छ। यसबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धानका लागि राजश्व कार्यालयमा बुझाइएको हुँदा बाँकी अनुसन्धान उतै हुने डाँगीले बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू