अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५१ | Colorodo: 15:06

परराष्ट्रमन्त्री राणा र ओमानका विदेशमन्त्री अल बुसाइदीबीच द्विपक्षीय वार्ता

बिआरटीनेपाल २०८१ भदौ ११ गते ६:४७ मा प्रकाशित

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र ओमानका विदेशमन्त्री सइद बद्र हमाद हमुद अल बुसाइदीबीच द्विपक्षीय वार्ता भएको छ। परराष्ट्रमन्त्री राणाको निमन्त्रणामा सोमबार नेपाल आएका ओमानका विदेशमन्त्रीसँग दुई पक्षीय भेटवार्ता भएको हो। काठमाडौँको होटल सोल्टीमा भएको वार्तामा दुई देशबीच श्रम, स्वास्थ्य, पर्यटन र परराष्ट्र मामिलाका सम्बन्धमा विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जानकारी दिनुभयो। श्रमको विषयमा सम्झौताको तयारी भएको पनि जानकारी दिनुभयो। ओमान पक्षले पनि नेपाली श्रमिकहरु आवश्यकताका आधारमा लैजान इच्छुक रहेको र दुई देशबीच यसै वर्ष श्रम सम्झौता गरिने सहमति भएको पनि परराष्ट्रमन्त्रीले जानकारी दिनुभयो ।

परराष्ट्र मन्त्री डा. राणाले नेपालको पर्यटन क्षेत्रमा पनि ओमान सरकारले लगानी गर्न इच्छा देखाएको बताउनुभयो। वार्तामा आफूले नेपालको प्राकृतिक सौन्दर्य, नेपालमा सगरमाथालगायतका विश्वका आठ हजारभन्दा अग्ला हिमालहरु एवं विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरुका कारण पनि नेपालमा लगानी  गर्न उपयुक्त हुने बताएको जानकारी दिनुभयो । वार्तामा नेपाल तर्फबाट मन्त्री डा. राणासहित परराष्ट्र सचिव सेवा लम्साल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डे, ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्याललगायतका अधिकारीहरु र ओमानका विदेशमन्त्रीको नेतृत्वका ओमानी अधिकारीहरु सहभागी थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू