अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०६ | Colorodo: 15:21

अर्को वर्ष मात्र २ लाख ७० हजार अन्तर्राष्ट्रिय विद्यार्थी अस्ट्रेलिया जान पाउने

बिआरटीनेपाल २०८१ भदौ ११ गते ६:४१ मा प्रकाशित

अस्ट्रेलियाले सन् २०२५ मा विश्वविद्यालय र व्यावसायिक शिक्षा प्रदायकमाझ नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना दुई लाख ७० हजारमा सीमित गर्ने घोषणा गरेको छ ।घोषणाअनुसार अस्ट्रेलियाले आउँदो नयाँ वर्षमा सार्वजनिक वित्त पोषित विश्वविद्यालयमा एक लाख ४५ हजार, व्यावसायिक शिक्षा र प्रशिक्षण (भीईटी) क्षेत्रमा ९५ हजार तथा अन्य विश्वविद्यालय र गैरविश्वविद्यालय उच्च शिक्षा प्रदायकहरूमा ३० हजार जना अन्तर्राष्ट्रिय विद्यार्थीलाई अनुमति दिने बीबीसीले जनाएको छ ।

शिक्षामन्त्री जेसन क्लेयरले विश्वविद्यालयलाई सन् २०१९ को तुलनामा १५ प्रतिशत बढी अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न अनुमति दिइने तथा भीईटी प्रदायकका लागि २० प्रतिशतले कटौती गरिने जनाउनुभएको छ । उहाँले निर्धारित सीमाहरू संसद्ले पारित गर्ने बताउँदै अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्या सन् २०१९ को भन्दा सात हजारले कम र २०२३ को भन्दा ५३ हजार कम गर्ने जानकारी दिनुभएको खबरमा उल्लेख छ ।

यसअघि सत्तारूढ लेबर पार्टीले सन् २०२२/२३ मा अस्ट्रेलियाको कुल आप्रवासन सङ्ख्या पाँच लाख २८ हजारबाट घटाएर सन् २०२४/२५ सम्ममा दुई लाख ६० हजार बनाउने रणनीतिसहित अन्तर्राष्ट्रिय विद्यार्थी सङ्ख्या सीमित गर्ने योजना घोषणा गरेको थियो । गएको जुलाईमा सरकारले अन्तर्राष्ट्रिय विद्यार्थी भिसा आवेदन शुल्क ७ सय १० अस्ट्रेलियन डलरबाट बढाएर १ हजार ६ सय अस्ट्रेलियन डलर बनाएको छ । अस्ट्रेलिया अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विश्वको सबैभन्दा ठूलो बजारमध्ये एक हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू