अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५० | Colorodo: 01:05

साउनमा ४ अर्ब १९ करोड रुपैयाँको बिजुली भारत निर्यात

बिआरटीनेपाल २०८१ भदौ ११ गते ६:३० मा प्रकाशित

चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा चार अर्ब १९ करोड रुपैयाँको बिजुली भारततर्फ निर्यात भएको छ ।नेपाल विद्युत् प्राधिकरणले साउनमा देशभित्र खपत गरी बाँकी भएको वर्षायामको बिजुली भारततर्फ निर्यात गरी चार अर्ब १९ करोड ३९ लाख २४ हजार रुपैयाँ आम्दानी गरेको छ । साउनमा दैनिक रूपमा १३ करोड ११ लाख रुपैयाँको बिजुली निर्यात भएको हो । साउनमा निर्यात भएको बिजुलीको औसत दर प्रतियुनिट ८ रुपैयाँ ५१ पैसा रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आठ वर्षअघिसम्म वर्षायाममा दैनिक ८-९ घण्टा र सुक्खायाममा १८ घण्टासम्मको लोडशेडिङ बेहेर्नुपर्ने अवस्थाको अन्त्य भई अहिले वर्षायामका महिनाहरूमा देशभित्र खपत गरी बाँकी भएको बिजुली दैनिक रूपमा ७ सय मेगावाटभन्दा बढी निर्यात गर्ने अवस्थामा आइपुगेको बताउनुभयो । प्राकृतिक र प्राविधिक कारणले यदाकदा केही क्षण बत्ती जाने÷आउने गरे पनि अहिले मागअनुसार बिजुली आपूर्ति गर्न नसकेर लोडशेडिङ गर्नुपर्ने अवस्था नरहेको उहाँले उल्लेख गर्नुभयो ।

कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘हाम्रो पहिलो प्राथमिकता देशभित्रको बिजुली खपत बढाउने नै हो, खपत बढाउन प्रसारण र वितरण प्रणाली सुधार तथा विस्तारका कार्यहरू अभियानकै रूपमा कार्यान्वयनमा लगिएको छ, आन्तरिक रूपमा खपत गरी बाँकी भएको बिजुली छिमेकी देश भारत र बङ्गलादेशलाई निर्यात गरिने छ ।’घिसिङले वर्षायाममा भारततर्फ बिजुली निर्यात गरी उल्लेख्य विदेशी मुद्रा आर्जन हुँदा देशको विदेशी मुद्रा सञ्चिति एवम् नेपाल र भारतबीचको व्यापार घाटा कम गर्नसमेत सकारात्मक योगदान पुगिरहेको उल्लेख गर्नुभयो ।

‘हिउँदयाममा केही महिना अझै बिजुली आयात गर्नुपरे पनि आयातको परिमाण क्रमशः घट्दै जाने छ, गएको आर्थिक वर्षदेखि देशभित्र खपत गरी बढी भएको बिजुली भारतीय बजारमा बिक्री गरी खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बनिसकेका छौं’, उहाँले भन्नुभयो ।प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको बिजुली भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डे–अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय कम्पनी एनटीपीसी विद्युत व्यापार निगम लि–एनभीभीएनलाई बिक्री गरिरहेको छ । एनभीभीएनले बिजुली हरियाणा राज्यमा बिक्री गरिरहेको छ ।

प्राधिकरणले अहिलेसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाबाट उत्पादित ९ सय ४१ मेगावाट बिजुली बिक्री गर्न स्वीकृति पाएको छ । केही दिनअघि द्विपक्षीय सम्झौता बमोजिम भारतका बिहार र हरियाणा राज्यलाई थप २ सय ५१ मेगावाट बिजुली निर्यात स्वीकृति पाएको थियो ।  यसमध्ये एनभीभीएनमार्फत हरियाणा राज्यलाई थप दुई वटा जलविद्युत् आयोजनाबाट उत्पादित १ सय २५ दशमलव ८९ मेगावाट बिजुली बिक्री गरिने छ । अहिले दुई वटा आयोजनाबाट उत्पादित १ सय ९ दशमलव ६१ मेगावाट बिजुली हरियाणा राज्यमा बिक्री हुँदै आएको छ ।

१० वटा जलविद्युत् आयोजनाबाट उत्पदित १ सय २५ मेगावाट बिजुली मध्यकालीन सम्झौता बमोजिम पीटीसी भारतमार्फत बिहार राज्यमा निर्यात हुने छ । बिहारलाई पहिलो पटक र हरियाणालाई थप बिजुली निर्यातका लागि प्राविधिक प्रक्रिया पूरा गरी छिटै शुरू गरिने छ । अहिले १४ वटा आयोजनाबाट उत्पादित ५ सय ८० दशमलव ८९ मेगावाट बिजुली प्रतिस्पर्धी दरमा आईएक्समा बिक्री भइरहेको छ । केही दिनअघि स्वीकृति पाएको परिमाणको बिजुली निर्यात शुरू भइनसकेकाले अहिले आईएक्स र हरियाणालाई गरी दैनिक रूपमा ६ सय ९० दशमलव ५० मेगावाट बिजुली निर्यात भइरहेको छ । स्वीकृत परिमाणको १० प्रतिशत थप बिजुली निर्यात गर्न सकिन्छ । त्यसैले अहिले दैनिक रूपमा ७ सय मेगावाटभन्दा बढी बिजुली निर्यात भइरहेको छ ।

गएको आर्थिक वर्षमा भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको बिजुली आयात भएको थियो । यही अवधिमा १७ अर्ब ६ करोड रुपैयाँको बिजुली निर्यात भएको थियो । गएको आर्थिक वर्षमा आयातभन्दा १३ करोड रुपैयाँ बढीको बिजुली निर्यात गरी खुद बिजुली आयातकर्ताबाट नेपाल खुद बिजुली निर्यातकर्ता बनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू