अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०३ | Colorodo: 15:18

मन्त्रीहरुलाई काम गर्न दबाब दिनुस्, भाषण गर्ने कार्यक्रममा नबोलाउनुस् : अर्थमन्त्रीको आग्रह

बिआरटीनेपाल २०८१ भदौ ११ गते ६:१५ मा प्रकाशित

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रीहरुलाई काम गर्न दबाब दिन आग्रह गर्नुभएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।अर्थमन्त्री पौडेलले काम गर्ने कि भाषण गर्ने भन्ने असहजता मन्त्रीहरुलाई हुने गरेको भन्दै भाषण गर्न बोलाउने भन्दा काम गर्नका लागि प्रेरित गर्न निजी क्षेत्रहरुलाई आग्रह गर्नुभयो । बोलाएको कार्यक्रममा नजाँदा यथोचित मर्यादा र आदर नभएको गुनासो आउने भन्दै कार्यक्रममा बोलाउने भन्दा काम गर्न, नीति नियम बनाउने काममा लाग्न दबाब दिन उहाँले सुझाव दिनुभयो ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले देश, जनता र कानूनको ख्याल गरेर सफल व्यवसाय गर्न व्यवसायीहरुलाई आग्रह गर्दै त्यस्ता व्यवसायीहरुलाई राज्यले साथ र संरक्षण गर्ने बताउनुभयो । उहाँले अहिलेको संसदबाट बनेको पछिल्लो सरकार सबैभन्दा स्थिर सरकार भएको र वर्तमान सरकारको स्थिरताले नीतिगत स्थिरताको बलियो आधार दिएको बताउनुभयो । अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘अर्थमन्त्रीले सुन्नैपर्ने, बुझ्नैपर्ने, गर्नैपर्ने कामका लागि सुझाव दिन अरु कुनै समयमा हार्दिक स्वागत गर्नेछु । अरु समयमा यस्ता औपचारिक कार्यक्रममा बोलाउनु भन्दा तिमी काम गर, भाषण कम गर भन्ने सहजीकरण गरिदिनु हुन आग्रह गर्न चाहन्छु ।’

अर्थमन्त्री पौडेलले नीतिगत स्थिरता सुरक्षित गर्ने हिसावले वर्तमान सरकार अघि बढ्ने पनि बताउनुभयो । नेपालमा गुणस्तरीय उत्पादन गर्नसके अन्तर्राष्ट्रिय बजार नेपालका लागि पनि सुरक्षित हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू