अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५५ | Colorodo: 01:10

टिआरसी विधेयक पारित भएसँगै १२ बुँदे सहमति अन्त्य हुन लागेको छः माओवादी अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०८१ भदौ १० गते ७:१८ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक पारित भएसँगै १२ बुँदे सहमति करिब अन्त्य हुन लागेको बताउनुभएको छ । पोखरामा भदौ ९ गतेदेखि सुरु भएको पार्टीको गण्डकी प्रदेशस्तरीय परामर्श बैठकको सोमबार समापन गर्दै अध्यक्ष प्रचण्डले टिआरसी विधेयक पारित भएसँगै १२ बुँदे सहमति अन्त्य हुन लागेको र देश नयाँ ठाउँमा जान लागेको बताउनुभएको हो ।

अध्यक्ष प्रचण्डले जनतामा जान र नयाँ विचारको विकासमा लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनुभयो। पार्टीको प्राथमिकता सरकारमा भन्दा पनि पार्टी सङ्गठन निर्माण र विचारको विकास भएको उहाँले बताउनुभयो। ‘हामी सरकारको जोड घटाउमा लाग्ने होइन, अरुले हामीलाई खोज्दै आउने स्थिति हुनसक्छ। अबको कार्यभार पार्टी र विचारको विकास गर्ने गरी लाग्ने हो,’ उहाँले भन्नुभयो। यस्तै, उहाँले पार्टीलाई एकताबद्ध बनाउँदै समाजवादी क्रान्तिका लागि तयारी गर्नुपर्नेमा जोड दिनुभयो। ‘अहिले समाजवादी क्रान्तिका लागि बस्तुगत आधार तयार भएको छ। त्यसका लागि पहिलो सर्त पार्टीभित्रको एकता हो,’ प्रचण्डले भन्नुभयो।

अध्यक्ष प्रचण्डले माओवादी केन्द्र अहिले पनि देशको महत्वपूर्ण शक्ति रहेको उल्लेख गर्दै राष्ट्रिय स्वाधिनताको रक्षा र अहिलेका उपलब्धीको रक्षा अन्यबाट सम्भव नरहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘परिवर्तनका उपलब्धीलाई उल्टाउने षड्यन्त्र भइरहेको छ। त्यसमा हामी सबै सजग हुनुपर्दछ। आवश्यक परेको खण्डमा पुनःसङ्घर्षमा उत्रिएर भए पनि परिवर्तनलाई जोगाउनु पर्दछ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू