ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि काठमाण्डौ आइपुग्नुभएको छ ।उहाँ परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको निमन्त्रणामा केहीबेरअघि काठमाण्डाै आइपुग्नुभएकाे मन्त्रालयले जनाएको छ । दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि पहिलो पटक ओमानबाट उच्च भ्रमण भएको हो ।विदेशमन्त्री बल्सुसैदीले भोलि बिहान परराष्ट्रमन्त्री राणासँग द्विपक्षीय वार्ता गर्नुहुनेछ । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेर फर्कने कार्यक्रम छ ।
नेपाल र ओमानबीच सन् १९७७ को जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । पश्चिम एशियाको महत्त्वपूर्ण देश ओमानमा नेपालले सन् २०१३ को सेप्टेम्बर १ मा दूतावास खोलेको थियो । नेपाल र ओमान विश्वस्तरका विभिन्न विषयमा समान विचार र धारणा राख्छन् । दुवै देश संयुक्त राष्ट्रसङ्घका सदस्य हुन् भने असंलग्न आन्दोलनमा पनि दुवै सँगै छन् । ओमानमा अहिले झन्डै २४ हजार नेपाली श्रमिक छन् ।