नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी मङ्सिरमा हुने उपनिर्वाचनमा आफ्नो पार्टीको परीक्षण हुने बताउनुभएको छ। आइतबार दसौँ महाधिवेशनपछि आयोजित केन्द्रीय समितिको पहिलो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उपनिर्वाचनमा परीक्षण हुने भएकाले सबै शक्ति केन्द्रित गर्न निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो, ‘सम्भवतः आगामी मङ्सिरमा स्थानीय तहका विभिन्न रिक्त पदमा उपचुनाव हुन गइरहेको छ । त्यो उपचुनावमा हाम्रो परीक्षा हुनेछ । त्यो परीक्षाका आधारमा त्यहाँको हाम्रो पार्टी नेतृत्वको मूल्याङ्कन हुनेछ । जिम्मेवारी पाएपछि मात्र खट्छु भन्ने होइन कि यो मेरो जिम्मेवारी हो भनेर अहिलेदेखि नै खटिनुपर्छ ।’ साथै उहाँले अरू पार्टीले लगाई रहेको आरोपको प्रतिकार गर्न नहुने बताउनुभयो । नेपालले प्रतिकार गर्नु भनेको आफूमा भएको आत्मविश्वासमा कमी हुनु बताउनुभयो ।