अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५० | Colorodo: 15:05

अमेरिका: नरेशमाथि श्रीमती ममताको हत्या गरी शव घिसारेर घरबाहिर लगेको आरोप

बिआरटीनेपाल २०८१ भदौ ८ गते ६:०० मा प्रकाशित

अमेरिकामा तीन सातादेखि बेपत्ता भएकी ममता काफ्ले भट्टको हत्या भएको र हत्याको आरोप उनकै श्रीमान नरेश भट्टमाथि लागेको छ। बिहिबार भर्जिनिया प्रहरीले पक्राउ गरेको नरेशलाई शुक्रबार अदालत उपस्थित गराइएको थियो। अदालतमा उपस्थित गराइएको उनीमाथि ममताको हत्या गरी लास लुकाएको अभियोग लगाइएको भर्जिनियाबाट प्रकाशन हुने अखबार सेभेन न्युजले जनाएको छ। अदालतमा अभियोजकहरूले ममताको हत्या नरेशले नै गरेको र त्यसतर्फ इंगित गर्ने गर्ने विभिन्न सुराकहरू समेत रहेको बताएका छन्।

नरेशले ३० जुलाईमा घरभित्रै आफ्नी श्रीमती ममताको हत्या गरेको र हत्यापश्चात लास घिसार्दै बाहिर ल्याएको अभियोजकहरूले अदालतमा बताएका छन्। नरेश र ममता बस्दै आएको घरमा खानतलासी गर्दा मास्टर बेडरूममा रगतको धब्बाहरू देखिएको तथा मास्टर बाथरूम र त्यहाँ रहेको बाथटबमा पनि रगत देखिएको त्यहाँको प्रहरीले बताएको छ। अभियोजकहरूले जुलाई ३० मा नरेश चान्टिली वालमार्टमा देखिएको र त्यहाँबाट तीनवटा चक्कु किनेको पनि बताएका छन्। भोलिपल्ट (जुलाई ३१)मा फेरि लाउन्डन काउन्टी वालमार्टमा देखिएको र त्यहाँबाट सफाइका लागि आवश्यक सामग्री किनेको भेटिएको बताएका छन्। अभियोजकहरूका अनुसार नरेशले किनेको तीनमध्ये दुईवटा चक्कु अझै भेटिएको छैन।

खानतलासीका क्रममा खिचिएको नरेशको घरभित्रको छरपस्ट, अव्यवस्थित र अराजक दृश्यसहितका फोटोहरू पनि अदालतसमक्ष प्रस्तुत गरिएको थियो। घरभित्र रहेको एउटा सुटकेश भरी रहेको र ह्यांगरहरू खाली रहेको भेटिएका थिए। अधिकारीहरूले केही दिनअघि मात्रै नरेशले आफ्नो टेस्ला गाडी बेचेको र मनासस पार्कमा रहेको आफ्नो घर पनि बेच्ने प्रयास गरेको भेटिएको बताएका छन्। नरेशका वकिलहरूले भने नरेशको आपराधिक पृष्ठभूमि नरहेको र अभियोजकहरूले लगाएको आरोप पुष्टी हुने कुनै ठोस प्रमाण नरहेको बताउँदै धरौटीमा छाड्न अदालतसमक्ष आग्रह गरेका थिए।

यद्यपि न्यायाधीशले भने नरेश प्रहरीकै हिरासतमा रहने आदेश गरेक‍ी छन्। उनलाई धरौटीमा छाड्ने नछाड्ने निर्णय गर्न सोमबार सुनुवाई हुने न्युज सेभेनले उल्लेख गरेको छ। यसबीच भर्जिनिया प्रहरीले ममताको खोजी पनि तीव्र बनाएको छ। ममता बेपत्ता र नरेश प्रहरी हिरासतमा रहेकाले उनीहरूका एक वर्षीया छोरीलाई भर्जिनियाकै एउटा सामाजिक संस्थाको जिम्मा लगाइएको छ। प्रहरीले उनी स्वस्थ र सामान्य रहेको बताएको छ।

नेपालमा रहेका ममताका आफन्तलाई अमेरिकाले आकस्मिक भिसा दिएको पनि न्युज सेभेनले उल्लेख गरेको छ। नेपालबाट जाने ममताका आफन्तलाई बालिकाको जिम्मा लगाइने बताइएको छ। ममता आफू काम गर्ने भर्जिनिया युनिभर्सिटीको प्रिन्स विलियम मेडिकल सेन्टरमा अन्तिमपटक जुलाई २७ मा देखिएकी थिइन्। उनी जुलाई २८ सम्म साथीहरूसँग सम्पर्कमै रहेको भनिएको थियो। त्यसपछि सम्पर्कमा नआएपछि उनका साथीहरूले प्रहरीलाई खबर गरेका थिए। अगस्ट २ मा प्रहरी नरेश र ममता बस्ने मनासस पार्कस्थित घरमा पुगेका थिए। त्यतिबेला घरमा नरेश र उनीहरूका १ वर्षकी छोरी मात्रै थिए।

नरेशले ममता बेपत्ता भएको निवेदन प्रहरीलाई दिन त्यतिबेला अस्वीकार गरेका थिए। ममता त्यसअघि पनि पटकपटक घरबाट बेपत्ता हुने गरेको बताएर नरेशले प्रहरीलाई फर्काइदिएका थिए। ममताका साथीहरुको मौखिक उजुरीका आधारमा प्रहरीले अन्यत्र खोजी सुरू गरिसकेको थियो। अगस्टको ५ तारिखमा मात्रै नरेशले आफ्नी श्रीमती बेपत्ता भएको निवेदन प्रहरीमा दिएका थिए। त्यसपछि प्रहरीले तीन दिनसम्म ममताको व्यापक खोजी गरेको थियो।

प्रहरीले उनका साथीहरूसँग सोधपुछदेखि स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका भिडिओहरूलाई पनि मिहीनरूपमा अध्ययन गरेको र सय जनाभन्दा बढीसँग सोधपुछ गरेको थियो। बुधबार नरेशको घरमा पुनः खानतलासी गरेपछि बिहीबार उनलाई पक्राउ गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू