अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४५ | Colorodo: 09:00

बस दुर्घटनामा ज्यान गुमाएका २७ जनाको शव विमानमार्फत भारत पठाइयो

बिआरटीनेपाल २०८१ भदौ ८ गते ५:३९ मा प्रकाशित

हिजो तनहुँमा बस दुर्घटनामा हुँदा ज्यान गुमाएका भारतीय नागरिकको शव सरकारले भारत पठाएको छ । आज दिउँसो आएको भारतीय वायुसेनाको विशेष जहाजले शवलाई भारत महाराष्ट्रको नासिक जिल्लामा लगेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।दुर्घटनामा २७ जनाको ज्यान गएकोमा गोरखपुरका दुई जनाको शव एम्बुलेन्समार्फत पठाएको र २५ जनाको शव वायुसेनाको विमानले लगेको यादवले बताउनुभयो । दुर्घटनामा परेका सबै शवको पहिचान चितवनको भरतपुर अस्पतालमा भएको हो । घाइतेको अवस्था बुझ्न र शव लिनको लागि भारतको भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से आज बिहान नेपाल आउनुभएको थियो ।

काठमाण्डौ ओर्लिएलगत्तै उहाँ त्रीबी शिक्षण अस्पताल महाराजगञ्ज पुगेर १६ जना घाइतेको अवस्थाबारे जानकारी लिनुभएको थियो । गृहमन्त्री रमेश लेखक पनि खड्सेसँगै अस्पताल पुग्नुभएको थियो । घाइतेको अवस्था जानकारी लिएसँगै उहाँले सिंहदरबार पुगेर गृह मन्त्रालयमा पुगेर गृहमन्त्री रमेश लेखकसँग भेट गर्नुभएको छ । गृहमन्त्रीसँगको भेटमा राज्यमन्त्री खड्सेले दुर्घटनापछि लगत्तै उद्धार हुन सकेको भन्दै उहाँले सन्तोष व्यक्त गर्नुभएको छ । उहाँले उद्धारमा संलग्न नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सक्रियताका कारण केही व्यक्तिलाई बचाउन सकेको भन्दै प्रशंसा गरेको जानकारी दिनुभयो ।

राज्यमन्त्री खड्सेले आफू शिक्षण अस्पताल पुगेर बिरामीसँग बुझ्दा उपचार राम्रोगरी भइरहेको पाएको पनि आफूलाई बताएको उहाँले उल्लेख गर्नुभयो । गृहमन्त्रीसँगको भेटपछि राज्यमन्त्री खड्से चितवन पुगेर २५ जनाको शवसहित भारतीय वायुसेवाको विमानबाट भारत जानुभएको छ । हिजो भारतीय पर्यटक सवार बस तनहुँको ऐनापहराबाट मर्स्याङदी नदीमा खस्दा २७ जनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू