मुस्ताङकाे थासाङ गाउँपालिका वडा नम्बर २– काेबाङमा हिमपहिराेले थुनिएकाे बाेक्सी खाेला बग्न थालेकाे छ । हिमपहिराे आएर थुनिएकाे बाेक्सी खाेला बग्न थालेकाे सशस्त्र प्रहरीले जनाएकाे छ ।आज दिउँसो साढे १ बजेतिर धौलागिरि हिमालको फेदबाट हिमपहिरो खसेर खोँचमा थुप्रिँदा बाेक्सी खाेला थुनिएकाे थियाे । बोक्सी खोला कालीगण्डकी नदीको सहायक खोला हो ।
हिमपहिरोले खोला थुनिँदा जम्मा भएको पानी बिस्तारै बग्न थाले पनि जोखिम रहेकाले कालीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । हिमपहिरोका कारण जोखिममा रहेका केही घरपरिवारलाई यसअघि दिउँसो नै सुरक्षित ठाउँमा सारिएको छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले हिमपहिरो थुप्रिएको ठाउँमा सशस्त्र प्रहरीको टोली पठाइएको बताउनुभयो । यस्तै जल तथा मौसम विभागले पनि अर्काे सूचना नआएसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।