अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३६ | Colorodo: 17:51

बङ्गलादेशको अन्तरिम सरकारद्वारा पूर्वप्रधानमन्त्री हसिनाको कूटनीतिक राहदानी खारेज

बिआरटीनेपाल २०८१ भदौ ७ गते ८:४३ मा प्रकाशित

बङ्गलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानी खारेज गरेको छ । बङ्गलादेशको गृह मन्त्रालयले एक अधिसूचना जारी गर्दै पूर्वप्रधानमन्त्री शेख हसिना, उहाँका सल्लाहकारहरू, पूर्वमन्त्रिपरिषद्का सदस्यहरू र विघटित राष्ट्रिय संसद्का सबै सदस्यहरूलाई आफ्नो कूटनीतिक राहदानी बुझाउन निर्देशन दिएको अन्तर्राष्ट्रिय समाचार संस्था एफीएफले जनाएको छ । मन्त्रालयले उनीहरूको परिवारका सदस्यहरूलाई पनि अधिसूचना जारी गरेको छ ।

यसले हसिनालाई शरण दिइरहेको क्षेत्रीय शक्तिराष्ट्र भारतका लागि पनि कूटनीतिक दुविधा सिर्जना गरेको खबरमा उल्लेख छ । भारतले हसिनालाई शरण दिए पनि प्रधानमन्त्री मोदीले बङ्गलादेशको अन्तरिम सरकारका प्रधानमन्त्री मोहम्मद युनुसलाई पनि समर्थन गर्नुभएको छ । कूटनीतिक राहदानी धेरै देशहरूमा भिसारहित प्रवेश वा भिसा अनअराइभल जस्ता विशेषाधिकारहरूसँग आउँछन् । यो राहदानी बोक्नेहरूले अन्तर्राष्ट्रिय यात्राहरूमा सहजै पहुँच पाउँछन् ।

सरकारी जागिरमा व्यवस्था गरिएको आरक्षण दुरुपयोग गरिएको भन्दै यसको विरोधमा शुरू भएको विद्यार्थी आन्दोलन चर्किएसँगै पूर्वप्रधानमन्त्री हसिना आफ्ना अति निकटस्थ सदस्यसहित हेलिकप्टरमार्फत भारतमा शरण लिन पुग्नुभएको थियो । उहाँको १५ वर्ष लामो शासनको अन्त्यमा भएको आन्दोलनका क्रममा चार सय ५० जनाभन्दा बढीको ज्यान गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू