चितवनको भरतपुर अस्पतालमा पाठेघरको शल्यक्रिया गर्ने क्रममा एक महिलाको मृत्यु भएको घटनाको सम्बन्धमा छानबिन समिति गठन गरिएको छ। भरतपुर महानगरपालिका–१२ मुनाल चोककी ३९ वर्षीय सम्झना काफ्लेको मङ्गलबार पाठेघरको शल्यक्रिया गरेर बायोप्सी निकाल्ने क्रममा मृत्यु भएको थियो। घटनाको सत्यतथ्य पत्ता लगाउन बुधबार जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सरोकारवालासहितको सुरक्षा समितिको बैठकले भरतपुर अस्पतालका डाक्टर प्रकाश खतिवडा संयोजक रहनेगरी नौं सदस्सीय सर्वपक्षीय छानबिन समिति गठन गरेको हो।
छानबिन समितिमा बीपि कोइराला मेमोरियल क्यान्सर अस्पतालका एनेस्थेसियन डा। प्रदिप थापा, प्रहरी निरीक्षक बिबेक घिमिरे, अनुसन्धान अधिकृत अजय शर्मा, जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत अन्तिम सिन्जाली, पीडित पक्षका तर्फबाट रमेश काफ्ले, राजेन्द्र ढकाल, मन्दिरा काफ्ले रहनुभएको छ । यस्तै सदस्य सचिवमा शाखा अधिकृत तुलसीराम आचार्यलाई तोकिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो। छानबिन समितिले सातदिन भित्र प्रतिवेदन जिल्ला प्रशासन कार्यालयमा पेश गर्नुपर्नेछ।
छानबिन समितिले तयार पारेको प्रतिवेदनमाथि कारबाहीका लागि गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल काउन्सिललाई अनुरोध गर्ने समेत निर्णय गरिएको यादवले बताउनुभयो। सहमतिसँगै मृतक महिलाको शव बुझेर अन्तिम संस्कारका लागि लैजान परिवार सहमत भएका छन्। माइनर ९साधारण० शल्यक्रिया गर्दा चिकित्सकको लापरबाहीले महिलाको मृत्यु भएको आफन्तले आरोप लगाएका छन्।
भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार पाठेघरको बायोप्सी निकाल्दा बेहोस बनाउने क्रममा उनको मृत्यु भएको हो। पाठेघरमा शिष्ट भएको भन्दै उनको शल्यक्रिया गरेर बायोप्सी निकाल्न लागिएको थियो। मृतक महिलाको मुटुमा पहिल्यैदेखि समस्या रहेको पौडेलले बताउनुभयो। बिरामीको अवस्था गम्भीर भएपछि बचाउन आइसियुमा राखे पनि बचाउन नसकिएको उहाँले जानकारी दिनुभयो । मृतक महिला यही भदौ ३ गते पाठेघरको ट्यूमरको शल्यक्रियाका लागि भरतपुर अस्पतालमा भर्ना भएकी थिइन। मङ्गलबार बिहान ९ बजे शल्यक्रिया थिएटरमा राखी लठ्ठाउने सुई लगाइ बेहोस बनाउने क्रममा उनको होस् नआएको पौडेलले बताउनुभयो ।