राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले महामन्त्री मुकुल ढकाललाई पार्टीबाट निकाल्नुअघि अन्तिमपटक स्पष्टिकरण लिने भएको छ। बुधबार बसेको केन्द्रीय समिति बैठकले मुकुलसँग स्पष्टिकरण लिने निर्णय गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ। पार्टी सञ्चालन गर्न अक्षम, अनुशासनहीन, अराजनीतिक, अराजक व्यवहार गरी अनुशासन उल्लंघन गरेको लगायतका आरोप लगाउँदै रास्वपाले ढकाललाई महामन्त्री पदबाट निलम्बन गरेको थियो।
यसअघि केहिदिन अघि पनि रास्वपाले ढकाललाई स्पष्टिकरण सोधेको थियो।ढकालले पार्टी सभापति रवि लामिछानेविरुद्ध अभिव्यक्ति दिएपछि पार्टीसँग ढकालको दुरी बढेको छ भने पार्टीले पनि ढकाललाई पार्टीबाट निकाल्ने तयारी गरेको बुझिएको छ।
ढकालले स्पष्टिकरणसहित उल्टै सभापतिमाथि आरोप लगाउँदै प्रश्नसमेत सोध्नुभएको थियो। केन्द्रीय अनुशासन आयोगको सिफारिससहितको प्रतिवेदनका आधारमा पूर्वमहामन्त्री तथा पार्टी सदस्य ढकाललाई पार्टी विधानको धारा ५६ (४) बमोजिम अन्तिमपटक स्पष्टीकरणको मौका दिने पनि रास्वपाले निर्णय गरेको जनाएको छ।